सहिद सप्‍ताह सुरू, शास्त्रीको सालिकमा माल्यार्पण

सहिद सप्‍ताह सुरू, शास्त्रीको सालिकमा माल्यार्पण

काठमाडौं : सहिद शुक्रराज शास्त्रीलाई सम्झिँदै सहिद सप्ताह सुरू भएको छ।

पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्रीको योगदानलाई सम्झिएको छ।

उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको सालिकमा स–सम्मान माल्यार्पण गरेका छन्। उपमेयर डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताइन्।

‘उहाँको योगदान नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा पनि उत्तिकै छ। नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुभयो। विशेषगरी नेपाल भाषाको व्याकरण लेख्ने उहाँ नै पहिलो व्यक्ति हो,’ उपमेयर डंगोलले भनिन्, ‘त्यो मात्रै होइन बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति पनि उहाँ नै हो।’

कार्यक्रममा नगरबासीले सहिद शास्त्रीको त्याग र बलिदानीप्रति सम्मान अर्पण गरे।

नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ। नागरिकको हक हितका लागि तत्कालीन व्यवस्थाविरुद्ध विद्रोह गर्दा वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डाएर शास्त्रीको हत्या गरिएको थियो।

शास्त्रीलाई झुन्ड्याइएको रुख भएको ठाउँमा नै बुधबार महानगरपालिकाले श्रद्धाञ्जली सभा गरेको हो।

माघ १०, २०८० बुधबार ११:३२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।