‘द पोएट आइडल’ : केकीले लिइन् सुरक्षाको ठाउँ, साहित्यमा रुचि भएकाले निर्णायकमा छानेको निर्देशकको तर्क

‘द पोएट आइडल’ : केकीले लिइन् सुरक्षाको ठाउँ, साहित्यमा रुचि भएकाले निर्णायकमा छानेको निर्देशकको तर्क
अभिनेत्री केकी अधिकारी र निर्देशक अमनप्रताप अधिकारी

काठमाडौं : रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनको निर्णायकमा बदलिएको छ।

पहिलो सिजनकी निर्णायक सुरक्षा पन्तको स्थान केकी अधिकारीले लिएकी हुन्। पहिलो सिजनका सुरक्षाबाहेक विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल यथावत् छन्।

पहिलो सिजन प्रसारण भएपछि अभिनेत्री सुरक्षा पन्तले कविहरूलाई ‘जज गर्न नसक्ने’ भन्दै आलोचित भएकी थिइन्। केकी पनि कवयत्री नभएकाले उनले पनि त्यो आलोचनाको सामना गर्नुपर्ने देखिन्छ।

तर, उनी कहिलेकाँही सामाजिक सञ्जालमार्फत आफूले रचना गरेका कविताहरू पोष्ट गर्दै आइरहेकी छन्। अब उनले कविहरूको कत्तिको मूल्याङ्कन गर्न सक्छिन्, त्यो भने सुरू भएपछि नै देखिएला।

निर्देशक अमनप्रताप अधिकारीले साहित्यप्रति रुचि राख्ने भएकाले केकीलाई निर्णायकको रूपमा चयन गरेको तर्क गरे। केकी यसअघि रियालिटी शो ‘मेरो डान्स कप’मा पनि निर्णायककाे भूमिकामा थिइन्।

दिव्यदेवको होस्ट गर्ने शो माघ २२ गतेबाट प्रत्येक सोमबार र मंगलबार राति ९ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ। शोका लागि अडिसन राउन्डबाट १४ प्रतिस्पर्धी छनोट भइसकेका छन्।

‘द पोएट आइडल’को विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। पहिलो सिजनमा निलम गुरुङ विजेता बनेकी थिइन्।

माघ १०, २०८० बुधबार १०:३०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।