स्वीडेनलाई नाटोको सदस्य बनाउन टर्की सहमत, संसदबाटै अनुमोदन भयो प्रस्ताव

स्वीडेनलाई नाटोको सदस्य बनाउन टर्की सहमत, संसदबाटै अनुमोदन भयो प्रस्ताव

एजेन्सी : स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन(नाटो) सदस्य राष्ट्र बन्ने बाटो खुला भएको छ।

सदस्यताका लागि स्वीडेनले गरेको प्रस्ताव टर्कीको संसदले मंगलबार २८७ मतले अनुमोदन गरेको हो।

स्वीडेनको नाटो सदस्यता प्रस्तावलाई संसदमा लामो समय छलफलपछि मतदानको क्रममा चार सांसद् अनुपस्थित भएका थिए। ५५ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेको बीबीसीले जनाएको छ।

स्वीडेनले सन् २०२२ मा नाटो सदस्यताका लागि आवेदन दिएको थियो। रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले यो निर्णय लिएको थियो।

टर्कीको संसदमा राष्ट्रपति तैयप एर्दोगानको सत्तारुढ गठबन्धनको बहुमत छ। उनले आवेदन स्वीकृत गर्न मतदान गरेका थिए। यद्यपि, टर्कीको निर्णयले केही पश्चिमी सहयोगीहरूलाई भने निराश बनाएको छ।

स्वीडेनको पक्षमा मतदान गर्नुअघि टर्कीको संसदमा चार घण्टाभन्दा बढी बहस भएको थियो।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले मतदानपछि स्टकहोम गठबन्धनमा सामेल हुन ‘एक कदम नजिक’ भएको बताएका छन्।

टर्कीले यसअघि गत वर्ष अप्रिलमा फिनल्याण्डको सदस्यतालाई समर्थन गरेको थियो तर हंगेरीसँगै स्वीडेनलाई वेटिङ लिस्टमा राखेको थियो।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले मंगलबार क्रिस्टर्सनलाई आफ्नो देशलाई सैन्य गठबन्धनमा समावेश गर्ने विषयमा वार्ता गर्न निम्तो दिएको बताएका छन्। फिनल्याण्ड गत अप्रिलमा गठबन्धनको ३१औं सदस्य बनेको थियो। स्वीडेन ३२औं सदस्य राष्ट्र हुने तय छ।

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटो एउटा सैन्य गठबन्धन हो जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए। यसमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका छन्।

नाटोमा आबद्ध भएपछि कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र हमला भए एकअर्काको सहायता गर्ने सहमति यी सदस्य राष्ट्रहरूले गरेका हुन्छन्।

माघ १०, २०८० बुधबार ०९:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।