फिल्म हात्तिछापको ट्रेलर सौगातलाई मन नपरेपछि तनावमा निर्माण टिम

फिल्म हात्तिछापको ट्रेलर सौगातलाई मन नपरेपछि तनावमा निर्माण टिम

काठमाडौँ : एक महिना भयो फिल्म हात्तिछापको टिजर रिलिज भएको। ओएसआरबाट रिलिज भएको टिजर ११ लाखले हेरिसकेका छन्। बुस्टबिना यत्ति त के चल्थ्यो र टिजरमा। टिजरमा दयाहाङ राइका दृश्य धेरै समेटिएका छन्। सौगातको तीन सिन मात्र।

टिजर रिलिज भएदेखि नै अभिनेता सौगात मल्लले निर्माण टिमसँग किचकिच सुरु गरिहाले। उनले टिमसँग मात्रै हैन सार्वजनिक रूपमा अन्तर्वार्तामा पनि टिजर राम्रो नभएको प्रतिक्रिया दिइहाले।

अब फिल्मको प्रमोसन गरिदिनुपर्ने कलाकारले नै आलोचना गरेपछि निर्माण टिम तनावमा आउने नै भए। त्यसमा निर्माण टिमको सूत्र अनुसार फिल्ममा सौगात पनि शेयरमा बसेका छन्।

उनीहरुले ट्रेलर राम्रो बनाउने भनेर सौगातलाई फकाए। पटक-पटक देखाए पनि सौगातले ट्रेलर मन नपराएपछि निर्देशक सिमोस सुनुवार, निर्माता किरण नेपाली सम्पादक निमेश श्रेष्ठसँग बसेर नयाँ-नयाँ ट्रेलर बनाउन अहिले अनामनगरको एक स्टुडियोमा  धमाधम सिन काट्न व्यस्त छन्।

फिल्मको रिलिज मिति माघ २६ गते तोकिएको छ। फिल्म दिमाग खराबपछि नेपाली दर्शक नेपाली फिल्म हेर्न हलमा फर्किएका छैनन्।

सौगातसँगै दया अनि उपासना सिंह ठकुरी समेत फिल्ममा भए पनि रिलिज मिति नाकैमा आइसक्दा पनि फिल्मले हाइप बनाउनै सकेको छैन।

दयाहाङ फिल्मको प्रचारका देखिएकै छैनन्। अन्य फिल्मको छायाङ्कनको सेड्युलका कारण उनी प्रमोसनमा नदिएको निर्माण टिमको दाबी छ।

फिल्ममा सौगात र उपासना छन्। यी दुबैकै केमेस्ट्रीबारे यसो चर्चा भइदिए पनि फिल्मको हाइप बन्न सक्थ्यो। तर अझैँ चर्चा भइरहेको छ सौगात र सृष्टिको पुरानो लभ स्टोरी अनि ब्रेकअपको।

अब राजा बन्दाको अनुभवबारे मात्र अन्तर्वार्ता लिएर त युट्वका दर्शक तानिँदैन। सौगातको अर्को त्यस्तो चटपटे मसला पनि छैन। भ्युजका लागि यूट्युवरले बरु उही पुरानै प्रेमकथा अनि ब्रेकअपलाई प्राथमिकता दिन थाले।

उनीहरूले फिल्मबारे भन्दा पनि सौगात–सृष्टि श्रेष्ठको ब्रेकअपको कुरा कोट्याइ रहेका छन्। उपासनाको त चर्चै छैन।

सौगात र सृष्टिको ब्रेकअप पनि तातै विषय भएको भए एक हदसम्म निर्माण टिमले हाइप पाउन सक्थे। तर यो त बासी कुरा भइसक्यो। यी दुवैले यसबारे दर्शक वाक्क हुनेगरी भनिसकेका छन्। नयाँ नै के छ र यो दुखान्त कथामा!

जति गरे पनि फिल्मले दर्शकमा चासो निर्माण गर्न नसकेपछि अन्तिम हतियारका रूपमा निर्माण टिम दोस्रो ट्रेलरको निर्माणमा लागे। सौगात पनि खुसी हुने अनि यसो दर्शकले ट्रेलर हेरेर हलसम्म आइहाल्छन् कि भन्ने चासो पनि।

तर यो चिसोमा के माहौल तात्ला र!

माघ ९, २०८० मंगलबार २०:२६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।