अजित मिजारको न्यायका लागि चार दलित संगठनले संयुक्त आन्दोलन गर्दै

अजित मिजारको न्यायका लागि चार दलित संगठनले संयुक्त आन्दोलन गर्दै

काठमाडौं : गैरदलित युवतीसँग प्रेम विवाह गरेका कारण सात वर्षअघि मारिएका काभ्रे पाँचखालका अजित मिजारको न्यायका लागि दलित चार संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपाल, व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्च नेपालले पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन्।

दलित संगठनहरूले संयुक्त प्रेस वक्तव्य सार्वजनिक गर्दै यही माघ १५ गते अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ। माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते प्रदर्शन गर्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने बताए।

जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष शान्ति गजमेरले न्यायको लागि कानुनी राज्यमा आन्दोलनमै उत्रिनुपर्ने बाध्यता भएको बताइन्। योजनाबद्ध रुपमा मारेर झुन्ड्याइएको यथेष्ट प्रमाण हुँदाहुँदै पीडकलाई उन्मुक्ति दिइएको उनको भनाइ छ।

उनले नेपालको कुल जनसंख्या मध्ये १३ प्रतिशत जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरिएको बताइन्।

२०७३ असार २५ गते अजित र पाँचखालकै ज्याम्दीकी कल्पना पराजुलीबिच प्रेम विवाह भएको र त्यसको दुई दिनपछि असार २९ गते धादिङमा पुर्याएर अजितलाई केटी पक्षका मानिसहरूले हत्या गरेको पीडित पक्षको भनाई छ।

अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

अजित र कल्पना बीचको प्रेम सम्बन्ध, प्रेम विवाह, परिवारको दबाबबाट अलग्याइएको घटना र त्यससँग जोडिएका कयौं प्रमाणहरूले अजितको हत्या भएको छर्लङ्ग हुँदाहुँदै जिल्ला अदालत धादिङले आत्महत्या गरेको भन्दै प्रतिवादीलाई सफाइ दिएको र उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको भन्दै उनीहरूले आपत्ति जनाए।

माघ ९, २०८० मंगलबार १६:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।