प्रधानमन्त्री कप क्रिकेटमा कोशीको लगातार सातौं हार, कर्णाली ६ विकेटले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा कोशीको लगातार सातौं हार, कर्णाली ६ विकेटले विजयी

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौं हार बेहोरेको छ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी कर्णालीसँग ६ विकेटले पराजित भएको हो।

टस हारेर पहिला ब्याटिङमा तानिएको कोशीले ३४.३ ओभरमा सबै विकेट गुमाएर १५१ रनमा अलआउट भयो।

उसका लागि सुजन थपलियाले ७३ रनको अर्धशतकीय पारी खेल्दा बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

कर्णालीका दिनेश अधिकारीले चार, प्रकाश जैसीले तीन र दिवन पुनले दुई विकेट लिए।

१५२ रनको लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि अर्जुन घर्तीले अविजित ५० रनको अर्धशतकीय पारी खेले। विपिन शाही २८, हिमांशु शाही अविजित २४, निश्चल रावल २१ रन बनाउँदा कप्तान रविन्द्र शाही १२ रनमा आउट भए।

कोशीका हेमन्त राईले तीन तथा कमल खत्रीले एक विकेट लिए।

हारसँगै कोशी अंहविहीन हुँदै तालिकाको पुच्छारमा छ। कर्णाली भने ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।

माघ ९, २०८० मंगलबार १४:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।