ब्रेकअपको समाचारले मानसिक पीडामा एलिना, सोधिन्- ‘कसलाई सोधेर समाचार बनाएको?’
काठमाडौं : गायिका एलिना चौहानको ब्रेकअफको खबरले सोमबार दिनभर पोर्टलदेखि युट्युबसम्म तात्यो। उनको प्रेमी भनिएका अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग ब्रेकअप भएको समाचारले राम्रै हल्लाखल्ला चल्यो।
आफ्नो बारेमा समाचारले सामाजिक सञ्जाल रंगिएपछि मंगलबार बिहान गायिका चौहानले त्यसप्रति असन्तुष्टि जनाएकी छन्। समाचारको खण्डन गर्दै उनले ‘कसलाई सोधेर समाचार बनाएको?’ भनेर प्रश्न गरेकी छन्।
‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो? के कसैलाई मैले बनाउन लगाएको हो? कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधी समाचार बनाउँछन्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कोहि मैले देशलाई नै घात पुर्याउने काम गरेजसरी स्रोतका अनुसार भन्दै समाचार लेख्छन्।’
अवस्था राम्रो नभएको बेला ब्रेकअपको समाचारले झन् गहिरो असर परेको उनले उल्लेख गरेकी छन्। सामान्य मानवीय संवेदनाको समेत पनि ख्याल नगरी समाचार सम्प्रेषण गरिएको भन्दै उनले चित्त दुखाएकी छन्।
पछिल्लो पटक आफूले स्टेज कार्यक्रममा जाँदा आयोजकले गरेको दुर्व्यवहार र अपमान खेपेको भन्दै त्यसलाई कसैले नदेखेको गुनासो पोखेकी छन्।
‘हजुरहरूको खोजी पत्रकारीताले मैले भोगेका दुःख, पीडा, अपमान किन देख्दैन? थाहा छ कलाकारहरूले हरेक पाइलामा कति अपमान सहनुपरेको हुन्छ?,’ उनले लेखेकी छन्, ‘अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो। नत्र उहाँहरूले चाहेसम्म गाएको गाएकै गर्न निर्देश गरियो। त्यो पनि हाम्रै संगीत क्षेत्रको अभिभावकले।’
हिजोको समाचार लेख्ने पत्रकारहरुलाई अझै कोही छुट्नु भयो कि भन्दै प्रश्न उठाएकी छन्।
उनले अगाडी लेखेकी छन्, ‘अझै कोहि छुट्नुभएको छ मेरो समाचार बनाउन कि सबैले खोजी पत्रकारिताको बिट मारी सक्नुभयो?’
सार्वजनिक व्यक्ति भए पनि आफ्नो पनि व्यक्तिगत जीवन भएको उल्लेख गर्दै उनले व्यक्तिगत जीवनमा नघुस्न समेत आग्रह गरेकी छन्।
‘म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु तरपनि मेरो व्यक्तिगत जीवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ। थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा सञ्चारकर्मीहरुले मेरो इच्छाविना अथवा सहि समयको पर्खाइ नगरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रूपमा पीडा दिनुभएन।’
माघ ९, २०८० मंगलबार १४:११:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।