राजकुमार बगरका प्रिय दश सुर : अरुण थापासँग सहकार्य गर्ने रहर अधुरै रह्यो, म ढिला जन्मिएँ नि त!

६० को दशकयता एउटा यस्तो जमात थियो, जसले गीतकार तथा संगीतकार राजकुमार बगरका गीतहरू सुनेर निदाउने गर्थ्यो। हुन पनि राजकुमारका गीतहरूमा त्यो बेलाको तन्नेरी पुस्ताले आफूलाई पाउँथ्यो।
उन्माद प्रेमदेखि व्यग्र बिछोडसम्मका गीतहरू राजकुमार बगरका चिनारी हुन्। त्यति मात्र होइन, उनले सामाजिक विषय भाव झल्काउने गीतहरूमा समेत शब्द कोरेका छन्। त्यसैले पनि उनले लेखेका र संगीत भरेका अधिकांश गीतहरू आजसम्म स्रोतामाझ उत्तिकै लोकप्रिय छन्।
थुप्रै गीतहरूमध्ये आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरूका पाँच गीतहरू उकेराकर्मी सँग यसरी रोजेका छन्।
आफ्ना पाँच
उडेर जून छुन्छु भन्थेँ
यो गीत रामभक्त जोजिजुले गाउनुभएको हो। वि.सं. २०५५ सालमा रेडियो नेपालमा शब्द र स्वरमा प्रथम भएको गीत हो। मेरो गीत तथा संगीत रेकर्डिङको हिसाबले पहिलो गीत हो। हरेक मान्छेलाई आफ्नो पहिलो कुरा प्रिय लाग्छ। त्यसैले मेरो पहिलोपल्ट रेकर्ड भएको गीत हुनाले पनि मलाई प्रिय लाग्छ।
अर्को कुरा, यो गीत मेरो कोसेढुङ्गा पनि हो। किनभने मैले लेखेको शब्दहरू गीत बन्छ कि बन्दैन होला भन्ने दुविधा भइरहेको बेलामा यसलाई स्रोताहरूले मन पराइदिनुभयो। त्यसकारण पनि यो गीत मेरो लागि अति प्रिय छ। गीतको शब्द रचना मेरो रहेको छ भने संगीत बीबी अनुरागीको छ।
यता कुलो काट्दा खेरि उताको खेत सुक्यो अरे
यो गीत मलाई किन प्रिय लाग्छ भने यो गीत नेपालमा सशस्त्र द्वन्द्वका समयमा लेखिएको हो। मेरो घर तनहुँको थर्पु हो। त्यहाँ बाट दमौली सदरमुकाम र दुलेगौडा भन्ने ठाउँमा दशैंपछि एकादशी मेला लाग्छ। त्यहाँ विभिन्न ठाउँबाट बाजा-गाजासहित आउने, नुहाई धुवाई गर्ने, आफ्नो कल्चरको गीत गाउने लगायतका रमाइला गतिविधि हुन्छन्।
त्यो द्वन्द्वको समय थियो। हामी तीन जना एकदमै मिल्ने साथी केशव आले, विश्वराज र म थियौँ। एकजना साथीले त्यति बेला दमौली जाऊँ भन्नुभयो। अर्को साथीले दुलेगौडा जाऊँ भन्नुभयो। म बीचको परे। एकतिर जाँदा अर्को साथी रिसाउने, अर्को तिर जाँदा अर्को रिसाउने। यस्तो अवस्थामा एउटाको मन त दुखाउनै पर्ने भयो। त्यसबेला फुरेको गीत थियो यो।
अनि त्यो समयमा नेपाली सेना र माओवादीबीचको द्वन्द्वले गाउँका मान्छेहरूमा पनि त्यस्तै त्राश थियो। त्यसबेला मैले यो गीत लेखेको थिएँ। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ। त्यस बेलाका साथीहरूको याद दिलाउँछ। यो गीतलाई राजेश पायल राईले गाउनुभएको छ भने संगीत नारायण रायमाझीको छ।
तिमी छौ र त हाँसेको छु म
मैले फिल्मका लागि सोलो कम्पोज गरेको पहिलो गीत हो यो। किशोर राना मगरको निर्देशनमा बनेको ‘प्रतिबिम्ब’ फिल्ममा समावेश रहेको गीत हो। गीत संगीता राना प्रधान र हेमन्त रानाले गाउनुभएको छ। यस गीतमा शब्द र संगीत दुवै मैले नै गरेको छु। एक दशकअघिको गीतलाई दर्शकले यतिबेला पनि उतिकै मन पराइदिनुभएको छ। केही समयअघि टिकटकमा समेत अत्यधिक भिडियो बनेको थियो। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ।
तिम्रो माया पाउनलाई धेरै धेरै
यो गीत स्रोता-दर्शक र म आफैँलाई पनि एकदमै मन परेको गीत हो। दोहोरी तथा अन्य गीतहरू करोड क्लबमा पुगिरहेको अवस्थामा यो सुगम संगीतको गीतले ३ करोड ४ लाख भन्दा बढी भ्युज कमाएको छ। स्रोताले धेरै मन पराइदिनु भएको गीत हो जस्तो लाग्छ।
६ वर्षअघि युवराज चौलागाईंले गाउनुभएको यो गीतमा शब्द चन्द्र ज्योति आले मगर दिदीको छ। गीतको भिडियोमा पल शाह र आँचल शर्माले अभिनय गर्नुभएको छ। उहाँहरूको जीवन्त अभिनयले पनि गीतको भिडियो राम्रो बनेको छ। त्यस कारण पनि यो गीत मेरो लागि प्रिय छ।
आमा रातो साडी चुरा पोते किन नलाको
मैले लोक गीतहरू धेरै लेखेको छु। त्यसमध्ये एउटा छान्नुपर्दा मलाई यो गीत अत्यधिक मन पर्छ। किनभने यो क्रान्तिकारी गीत हो जस्तो लाग्छ। हाम्रो धर्म-संस्कार तथा चलनअनुसार एउटा बाल गीतमा पनि इतिहास रचेको गीत जस्तो लाग्छ। दिनेश काफ्ले र गीतादेवीले गाउनुभएको यो गीतको शब्द, रचना मेरो र लय भोजराज काफ्लेको छ।
यो गीतमार्फत समयअनुसार परिवर्तन हुँदै जानुपर्छ र एकदमै रुढीवादी पनि बन्नु हुन्न भन्ने भाव प्रस्तुत गर्न खोजेको छु। गीतमा बाल मनोभावलाई उठाइएको छ। नेपालमा आएका विभिन्न बाल गीत भन्दा यो गीत अलिक फरक लेख्ने कोसिस गरेको थिएँ। जुन सफल पनि भयो। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ भन्न रुचाउँछु।
अर्काका पाँच
मेरो टोपी हिमालको शीर जस्तो
गोपाल योञ्जनको शब्द, संगीत र स्वरमा सजिएको गीत हो। यसमा थुप्रै जनाले सामूहिक गाउनुभएको छ। म सानो छँदा रेडियोमा बज्दा एकदमै सुन्ने गीत थियो। किनभने यो गीत शब्द, संगीत र स्वरको संयोजनको हिसाबले असाध्यै राम्रो लाग्छ।
देशभक्त गीतमा पनि अत्यन्त मनपर्ने गीत हो। अनि गोपाल योञ्जन मेरो संगीतको आदर्श पनि हो। उहाँका धेरै गीतहरू मलाई मन पर्छ। राष्ट्रभक्त गीतमा सायद सेलिब्रेटी बन्ने पहिलो उहाँ नै हो जस्तो लाग्छ। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ।
लोलाएका ती ठूला..
गुलाम अलीले गाउनुभएको यो गीत मलाई असाध्यै राम्रो लाग्छ। मबीबी शाहको शब्द, रचना र दीपक जंगमको संगीतमा बनेको यो गीत उत्कृष्ट लाग्छ। हामी गुलाम अलीका थुप्रै गजलहरू सुन्छौँ। त्यसमध्ये पनि यो गीतले मेरो मन छोएको छ।
सानोमा हामी रेडियो एकदमै सुन्ने गर्थ्यौँ। त्यो समयमा टेलिभिजनको त्यति प्रभावकारिता थिएन। किनभने गाउँमा बिजुली पनि थिएन। गाउँमा सुन्नका लागि रेडियो नै थियो। त्यसबेला बज्ने गीतहरूमा यो गीत कति बेला रेडियोमा बज्ला र सँग-सँगै गुनगुनाउन पाइएला भन्ने लाग्थ्यो। बाल्यकालको सम्झना गराउने गीत भएको हुनाले पनि मलाई यो गीत प्रिय लाग्छ।
चोट के हो, व्यथा के हो
म रोमान्टिक गीतभन्दा पनि सेन्टिमेन्टल गीतहरू सुन्न र लेख्न रुचाउँछु। त्यसकारण पनि होला, मलाई अरुण थापाका गीतहरू एकदमै मन पर्छन्। उहाँले गाउनुभएको यो गीत धेरै सुन्ने गरेको छु।
मिलन बिछोडका गीतहरू सुन्दै आएर होला, कानलाई पनि यस्तै गीत सुन्ने बानी परेछ। त्यसैले पनि होला मलाई अरुण थापासँग गीत संगीतमा सहकार्य गर्ने रहर थियो। तर, त्यो पूरा हुन सकेन। किनभने हामी ढिला जन्मियौँ या उहाँ छिटो बित्नुभयो। यो गीतको संगीत अरुण थापाकै रहेको छ भने शब्द सुवास चन्द्र ढुङ्गेलको छ।
यो सम्झिने मन छ
हामीले नारायण गोपालका कति गीत सुन्यौँ, सुन्यौँ। त्यसमा पनि मलाई अलिक मनपर्ने गीत हो यो। रेडियोको समयमा मलाई नारायण गोपालका ६० वटा जति गीत कन्ठस्थ थियो। अहिले बानी बिग्रियो क्यारे सबै याद छैन। तर, त्यो समयमा धेरै गुनगुनाउने मध्ये नारायण गोपालको यही गीत थियो।
अहिले आफ्नै सिर्जना र व्यवसायमा लागेपछि पुराना कतिपय कुराहरू भुलिँदो रहेछ। त्यो समयमा मेलापात र गोठालामा मैले गाउने गीत पनि हो। यस गीतमा नारायण गोपालकै संगीत रहेको गीतलाई दिनेश अधिकारीले लेख्नुभएको हो।
पर लैजाउ फूलहरू
यो राजेन्द्र थापा दाइले लेख्नुभएको गीत हो। उहाँका सिर्जनाहरू एकदमै राम्रो लाग्छ मलाई। यो गीतलाई प्रेमध्वज प्रधानले गाउनुभएको छ भने संगीत नातिकाजीले गर्नुभएको छ। गीतकाे शब्द रचना एकदमै यथार्थपरक लाग्छ। हुन त सबैलाई यथार्थ नै लाग्छ तर, यो गीतका शब्द संगीत र स्वर नै मिठास छ।
मलाई प्रेमध्वज प्रधानका गीतहरू असाध्यै मन पर्छन्। मैले काठमाडौं आएपछि प्रेमध्वज प्रधानसँग भेट गर्ने अवसर पाएको थिएँ। तर, गीतमा सहकार्य गर्ने मौका मिलेन। मेरा दुई वटा गीत विमोचनमा गराउने अवसर पाएको थिएँ। उहाँका गीतले मलाई उहाँसँगका भेटलाई सम्झाउने गर्छ। त्यस कारण पनि यो गीत मलाई प्रिय लाग्छ।
माघ ९, २०८० मंगलबार १३:२८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।