एकीकृत समाजवादी राष्ट्रिय सम्मेलन माघ १४ गते, विधान हेरफेर गरिने

एकीकृत समाजवादी राष्ट्रिय सम्मेलन माघ १४ गते, विधान हेरफेर गरिने
फाइल फोटो

 

काठमाडौं : एकीकृत समाजवादीले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्दैछ।

उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि सम्मेलन गर्न लागिएको हो।

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका कार्ययोजना सम्मेलनमा बनाइने छ। पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए। पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदान लगायतका आधारमा मापदण्ड तय गर्ने छ।

सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ।

पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत सम्मेलनमा छलफल हुने खतिवडाले बताए।

माघ ९, २०८० मंगलबार १२:३९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।