ग्यालेक्सीको १५ प्रतिशत शेयर किनबेचमा रविको गोलमटोल तर्क 'प्रक्रियाका लागि ल्याप्चे हानेँ तर आर्थिक कारोबार गरिन'

ग्यालेक्सीको १५ प्रतिशत शेयर किनबेचमा रविको गोलमटोल तर्क 'प्रक्रियाका लागि ल्याप्चे हानेँ तर आर्थिक कारोबार गरिन'

काठमाडौँ : सहकारीको रकम ल्याएर दुरुपयोगमा संलग्न ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालीको १५ प्रतिशत सेयर लिँदाको कारोबारबारे सार्वजनिक भएका प्रमाणबारे खण्डन गर्न पत्रकार सम्मेलन गर्दै रवि लामिछानेले गुडविल शेयरका लागि प्रक्रियागत प्रक्रिया बाहेक संलग्न रहेको दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछानेले पत्रकार सम्मेलनमा शेयर लिँदा र छाड्दा आफूले कुनै कारोबार नगरेको दाबी गर्दा १५ प्रतिशत सेयर ल्याउने प्रयोजनका लागि मात्र कागजपत्र मिलाएको पटक-पटक स्वीकार गरे।

शेयर खरिद-विक्रीको प्रक्रियामा शेयर किन्नेले शेयर बापतको रकम विक्री गर्नेको खातामा बैङ्किङ प्रणालीबाट तिरेको प्रमाण कम्पनी रजिस्टारको कार्यालयमा पेस गर्नुपर्छ। गोर्खा मिडियाको १५ प्रतिशत शेयर किन्दा र बेच्दा कम्पनी रजिस्टारको कार्यालयमा गोर्खा मिडियाले पेस गरेको आर्थिक विवरणमा रविको नामबाट एक करोड ७५ लाख कम्पनीमा रकम जम्मा भएको र रविको खातामा कम्पनीको अध्यक्षबाट एक करोड ८० लाख रकम गएको देखिएको थियो।

उनले पत्रकार सम्मेलनमा 'काम गरिरहँदा आफ्नो गुडविल शेयरको अपेक्षा गर्दै (गुडविल शेयरको) प्रावधान नभएकाले प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको र दिएको छैन' भन्ने दाबी गरे।

उनले पत्रकार सम्मेलनमा आफूले पैसा नतिरी गुडविल बापत १५ प्रतिशत सेयर लिएको स्वीकार गरे। तर सो शेयर बापत कम्पनी रजिस्टारको कार्यालयमा के कसरी प्रमाण पुर्याइयो त्योबारे भने प्रस्ट खुलाएनन्।

उनले पत्रकार सम्मेलनमा '१५ प्रतिशत स्थापित गर्ने प्रयोजनका लागि, केही त्यसलाई वैधानिकता प्रदान गर्ने एउटा तरिका हुन्छ' भनेका थिए।

उनले भने' म पैसा लगानी गर्ने मान्छे हैन। यद्यपि आफ्नो शेयर सुरक्षित गर्नका निमित्त पैसा उहाँहरूबाटै व्यवस्थापन भएर भएको मैले खुल्ला रूपमा भनेको छु। त्यो सही या गलत के हुन्छ त्यो अब छानबिनले देखाउँला।'

उनले आफ्नो नाममा १५ प्रतिशत शेयर लिनेक्रममा त्यसको प्रक्रिया र शेयर किनबेचको कारोबार 'उहाँहरू' बाट व्यवस्थापन भएको बताएका व्यक्ति को हुन् खुलाएनन्।

कम्पनीको अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई भएको र १५ प्रतिशत सेयर उनैबाट लिएको र राजनीतिमा आएपछि उनैलाई दिएका थिए।  कम्पनी रजिस्टारको कार्यालयमा देखाउने प्रक्रिया उहाँहरूले नै मिलाएको स्वीकार गरेका उनले कसरी मिलाए भन्ने खुलाएनन्।

सार्वजनिक भएका तथ्यहरूले ७५ लाख उनैले जम्मा गरेको र बुटवलमा रहेको सुप्रिम सहकारीबाट उनी र अर्को कर्मचारीले जम्मा गरेको भन्दै गोर्खा मिडियामा एक करोड रुपैयाँ जम्मा भएको देखिन्छ। सो रकम उनले भनेजस्तै उहाँहरूबाट उनको नाममा १५ प्रतिशत शेयरको कारोबारको प्रक्रिया मिलाउन गरिएको हुनसक्ने देखिन्छ।

तर पत्रकार सम्मेलनमा उनले त्यसलाई स्वीकार गरेनन्। उनले 'कसैले भन्दिएर, मेरो नाममा राखेको पैसाको मैले किन जिम्मा लिने?' भन्दै उल्टै प्रश्न गरेका थिए।

'मैले जम्मा नै नगरेको पैसा कसैको निर्देशनमा ग्यालेक्सीको खातामा जम्मा भएको त हो नि। म त त्यहाँ छैन। कसैले जम्मा गरेकोमा मैले कसरी जिम्मा लिने?' उनले भनेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा आएपछि आफूले गुडविल बापत पाएको १५ प्रतिशत शेयर फिर्ता दिएको उनले बताउने गरेका छन्। सोमबारको पत्रकार सम्मेलनमा पनि उनले यही दोहोर्याए।

सोही क्रममा जीवी राइको खाताबाट रविको ग्लोबल आइएमइ बैंकमा रहेको खातामा चेकबाट एक करोड ८० लाखको रकम जम्मा भएको विवरणको आधारमा गोर्खा मिडियामा रहेको उनको शेयर जीवीको नाममा सरेको देखिन्छ।

सोमबार सार्वजनिक भएको पत्रमा चेक जम्मा भएको तर पर्याप्त रकम मौज्दात नभएकाले रकम रविको खातामा जम्मा नभएको उल्लेख छ। सो चेकको प्रयोजन रविको नाममा रहेको शेयर जीवीले खरिद गरे बापतको भुक्तानीको रहेको प्रस्ट देखिन्छ।

रविको दाबी अनुसार सो समेत प्रक्रिया पुरा गर्न अपनाइएको शैली रहेको देखिन्छ। उनले शेयर लिएको अनि दिएको पटक-पटक स्वीकार गरे तर आर्थिक व्यवहार नगरेको तर्क गर्दै 'उहाँहरूबाट प्रक्रिया मिलाएको दाबी गरिरहेका थिए।

पत्रकार सम्मेलनपछि उनले ट्विट गर्दै थप दाबी गरे' प्रक्रियाका लागि कागजमा ल्याप्चे लगाए पनि  मेरो खातामा पैसा जम्मा नभएको कुरा निरन्तर भन्दै आएको छु र प्रमाणले पनि त्यही देखाएको छ।'

उनले आर्थिक कारोबार नगरेको दाबी गरे पनि शेयर खरिद विक्रीको प्रयोजनका लागि प्रक्रियामा भएका निर्णयहरूमा सहभागी भएको र ल्याप्चे लगाएको स्विकारेका छन्।

यसले उनले आर्थिक कारोबार नगरेको तर शेयर किनबेच भएको कानुनी प्रमाण पूर्याएर कम्पनी रजिस्टारको कार्यालयमा बुझाउन आफूले सहीछाप भने गरेको स्विकारेको देखिन्छ।

रवि-जीवी प्रकरण

माघ ८, २०८० सोमबार २३:४६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।