काेशीमा एमाले र राप्रपाबीच तालमेलकाे लिखित सहमति

काेशीमा एमाले र राप्रपाबीच तालमेलकाे लिखित सहमति

विराटनगर : माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच तालमेल गर्ने सहमति भएको छ।

एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन्।

एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो।

राप्रपा कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले राप्रपा र एमालेबीच तालमेलको सहमति भएको बताए।

‘राप्रपा र एमालेबीच कोशीमा तालमेलको सहमति भएको हो। सहमतिअनुसार राप्रपाका पौडेल र एमालेकी कोइरालालाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको छ,’ सिटौलाले । 

नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि राष्ट्रिय सभा चुनावमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको बताए। 

केन्द्रीय तहमै छलफल गरी तालमेलको निर्णय गरिएको नेताहरूले बताएका छन्। ‘कोशीमा तालमेल गर्न केन्द्रबाटै सहमति भएर आएको छ,’ उनले भने।

कोशीमा एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रूक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन्। 

कोशीमा सत्ता गठबन्धनको मतभार ५४७४ छ भने बाँकी दलको कूल मतभार ४६६१ छ।

माघ ८, २०८० सोमबार २०:४१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।