प्रधानमन्त्री कपमा मधेशले सुदूरपश्चिमलाई ८० रनले हरायो, नरेन भट्ट र मायन यादवको शतक

प्रधानमन्त्री कपमा मधेशले सुदूरपश्चिमलाई ८० रनले हरायो, नरेन भट्ट र मायन यादवको शतक

काठमाडौं : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेशले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्यो।

नरेश भट्टको शतकीय पारीका वावजुद पनि सुदूरपश्चिम पराजित हुन पुग्यो। प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो।

जितसँगै प्रतियोगितामा चौथो खेल जितेको मधेशले ८ अंक जोडेको छ। ६ खेलमा ८ अंक जोड्दै मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा छ। ४ खेलमा ३ जित र १ खेलमा हार बेहोर्दै सुदूरपश्चिम ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

मधेश प्रदेशले प्रस्तुत गरेको ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २३९ रनमा समेटियो।

सुदूरपश्चिमका लागि नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्काको मद्दतमा १२१ रन बनाए। नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ र गजेन्द्र बोहराले १२ रन बनाए।

मधेशका लागि राजेश यादव र प्रदीप पासवानले ३/३ विकेट लिए भने  रञ्जित कुमारले २ तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो।

मधेशका लागि मायन यादवले १२८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ११५ रनको शतकीय पारी खेले। पवन सर्राफले ६३ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए।

अनिल शाहले ७० बलमा ६ चौका र २ छक्काको मद्दतले ६९ रन‚ रुपेश सिंहले २१ रन, अविशेक तिवारीले १६ रन तथा हरिशंकर शाहले १४ रन बनाए।

सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए भने विकास आग्रीले २ तथा नारायण जोशी र गजेन्द्र बोहराले १/१ विकेट लिए।

माघ ८, २०८० सोमबार १९:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।