पचास वर्षदेखि कालीमाटीमा साग बेचिरहेका ज्ञानकुमार भन्छन्- ‘...खुसी हुनलाई यति भए पुग्दैन र?’
कालिमाटी तरकारी बजारको ठ्याक्कै पारीपट्टि साथीको घरको आँगनमा ज्ञानकुमार महर्जनले पसल राख्न थालेको ३५ वर्ष बितिसक्यो। उनलाई काम नगर्न घरपरिवारले धेरैपटक भनिसके।
तर, यहाँ आएर साथीभाइसँग कुरा गर्दा अनि साँझ घर फर्किँदा केही रूपैयाँ भएपनि खल्तीमा हुँदा उनी आनन्द मान्छन्। यसरी नै आफ्नो पुराना दिनहरूको बारेमा कुरा गरेर यादहरूको संगालोमा उनी रमिरहन्छन्।
उनी अहिले पनि सबेरै उठेर थिमीबाट यहाँ आउँछन्। फरक यत्ति हो, कुनै समय दुई घण्टा हिँडेर यहाँ आइपुग्थे। अहिले बसमा गीत सुन्दै आउँछन्। खाना यतै खान्छन्। पहिलादेखि नै चिनेको साथी भएको कारण खाना खाने अनि उनै साथीको घरको आँगनमा पसल राख्न सहज छ उनलाई।
दिनभर यहाँको रमाइलो, गाडीको भीडभाड व्यापार सकेर साँझ थिमी फर्किनुभन्दा नयाँ दैनिकी छैन उनको।
'मेरो साथी बाडा (सुनको काम गर्ने व्यक्ति) म नेवार,' उनी हाँस्दै सुनाउँछन्, 'साथी हो। उ ट्वाइलेटतिर जाँदा यसो उसको पसल हेरेको जस्तो पनि हुन्छ। पहिलादेखि नै साथी भएकाले उसको आँगनमा बस्न मलाई केही गाह्रो छैन।'
कालिमाटीदेखि कोटेश्वर, अनि त्यसपछि थिमी गर्नुपर्दा दिनमा चार वटा गाडी फेर्छन् उनी। बाँकी भएको सामान सबै यतै राखेर फर्किन पाउँदा एकदम सहज महसुस गरेका रहेछन्।
'जति दु:ख गर्नु थ्यो। भारी बोक्नु थ्यो, बोकिसकेँ। अब त सजिलो छ नि! सबै गाडीले गर्छ', उनले सुनाए।
ज्ञानकुमार थिमीका बासिन्दा हुन्। उनी त्यहाँ केही वर्ष अघिसम्म खेती गर्दै आएका थिए। अरूको जग्गामा अधियाँ खेतिपाती गर्ने र त्यसबापत केही अन्न लिने गरेर नै उनको जिन्दगी बित्यो।
उनका बुवा र आमा पनि थिमीकै किसान हुन्। उनीहरूले थिमीमै लामो समयसम्म मौसम अनुसारको तरकारी खेती गर्ने अनि कालिमाटी आएर बेच्ने गरे।
'साग बोकेर थिमीबाट हिँड्दै कालिमाटी आउँथे'
उमेरले ७६ वर्ष छोइसकेका उनले कालिमाटीमा तरकारी बेच्न थालेको नै पचास वर्षभन्दा बढी भइसक्यो।
'बाजेदेखि नै कृषि गरेको। किसानको छोरा हुँ, किसान नै भएँ,' पुराना कुरा सम्झिँदै उनले सुनाउन थाले, 'बुवाले पनि खेती नै गर्नुभयो। सकेको बेला आमाले पनि त्यही गर्नुहुन्थ्यो। बुवाले अरूको जग्गामा खेती गरेर बच्चाहरूलाई पढाउन सक्नुभएन। म कान्छो सन्तान हुँदा त पढ्न पाइँन भने झन् दाइदिदीले पढ्न कहाँ पाउनु! छ जना परिवारको जीवन गुजार्न बुवालाई पनि गाह्रो थियो नि!'
उनलाई थाहा भएसम्म उनको हातमा कुटो-कोदालो आइसकेको थियो। उनको बाल्यकाल, जवानी सबै खेतीमै सीमित हुन पुग्यो।
'मैले पढेको छैन। तर, मेरो छोरो पढेको छ। उ त सर हो नि!', दङ्ग पर्दै उनले भने।
एकबेला, थिमीबाट १२०/१३० रूपैयाँ किलो साग खर्पनमा चाङ-चाङ बनाएर बोकेर हिँड्दै कल्मती बजार आएको उनले अझै बिर्सेका छैनन्।
'थिमीमा हाम्रो सागबारी छ। त्यहाँबाट ल्याउने अनि यताको तरकारी बजारमा बेच्ने,' उनी भन्छन्, 'त्यो बेला चार बजे यहाँ आइपुगेन भने व्यापार गर्ने ठाउँ नै हुँदैनथ्यो। त्यसैले राती दुई बजेदेखि नै थिमीबाट हिँडेर आउँथे।'
उनकी श्रीमतीले पनि व्यापारमा खुब सहयोग गरिन्।
कालिमाटीको तरकारी बजारमा ज्ञान कुमारले व्यापार गर्दा यहाँको विकास समिति पनि बनेको थिएन। केही वर्ष राम्रैसँग बसे। पछि धेरै ठाउँबाट व्यापारको लागि मान्छेहरू आउन थाले र समितिमा राजनीति हुन थालेपछि बजार भन्दा साथीको आँगन नै उनलाई बेस लाग्यो।
'पहिला त तरकारी बजार एकदम राम्रो थियो। सबै मिलेर बस्थ्यौँ। पछि के-के गर्ने भनेर पैसा उठाउन थाल्यो,' उनले भने, 'मलाई पनि त्यहाँ बस्दा दश रूपैयाँसम्म उठाएको याद छ।'
मनोमानी ढंगले व्यापारीबाट पैसा उठाउने गरेको अनुभव उनीसँग छ। समितिमा चुनाव हुँदा चैँ पैसा उठाउन नआउने रहेछन्। त्यो देखेर दिक्क भएका उनले त्यसपछि तरकारी बजारबाट सम्बन्ध तोडे। साथीको आँगनमा राख्न दिएपछि साग राख्नको लागि चैँ गोदाम लिए।
केही समय त डुलेरै पनि साग बेच्न गए। अहिले भने उनी साग बेच्दैनन्। विभिन्न तरकारीको बिउ र फूलका विरुवाहरू बेच्ने गर्छन्।
'म पढ्न नपाए पनि छोरालाई सर बनाए'
'रोडमा पनि व्यापार राम्रै हुन्छ। मलाई खान पुग्छ। एक मुठामा दुई रूपैयाँ फाइदा हुन्छ। यहाँका सबै साथीभाइसँग राम्रोसँग बोल्छु। उनीहरूलाई खुसी पारेर राखेको छु। गाडी भाडा बाहेक पनि दिनको दुई/तीन सय बचाउँछु। दिनमा त्यति नाफा हुनु भनेको राम्रै हैन र!', उनले एकै श्वासमा भने।
थिमीमा पनि बस्ती बस्न थालेपछि उनले साग फलाउने गरेको जग्गाहरूमा अहिले घर बनिसक्यो। उनले सबै सामान थिमीको साथीको पसलबाट ल्याउने गर्छन्। साग बेचेरै उनले आफ्ना चार सन्तानको पढाइ र बिहे गराइदिए।
'छोरा सर हो। बुहारीले पनि अस्ति भर्खर आफ्नै औषधि पसल खोलेको छ, थिमीमै। नाति पनि पढ्दै छ। त्यही भएर उनीहरूले अब त आराम गर भन्न थालेका छन्', खुसी हुँदै उनले भने।
यत्तिका समय उनले योबाहेक अरू कुनै काम गर्ने वा अर्को व्यापार गर्ने भनेर सोच्दा पनि सोचेनन्। तरकारी खेती गरेर बेच्ने भन्दा अर्को काम गर्न नआएको उनी बताउँछन्।
'यतैबाट अलिअलि भइहाल्थ्यो। अर्को काम गर्न आउँदैन। त्यही भएर अर्कोमा ध्यान दिएन। अहिले सरकारले बुढो भयो भनेर भत्ता पनि दिन्छ। अब त झन् अर्को काम गर्ने कुरा पनि भएन', भन्दा भन्दै उनी मुसुक्क हाँसे।
सडकमै बस्दा अहिले कालिमाटी चोकको हो-हल्लाले उनलाई केही अफ्ट्यारो बनाउने रहेछ। तर, त्यो पनि बानी पारिसके उनले।
वर्षौंदेखि थिमीबाट कालिमाटी भारीको भारी साग बेच्न हिँडेरै आएकाले होला उनी अहिले पनि निकै स्वस्थ छन्। स्वस्थ भएकै कारण आफ्नो सक्रियतामा उनी कुनै कमी गर्न चाहँदैनन्। घाम, पानी नभनी यहाँ व्यापार गर्न बस्छन्।
'अहिले जाडोमा घाम तापेर बस्दा बस्दा मुख पनि कालो भइसक्यो,' उनी भन्छन्, 'अरू नयाँ काम धेरै गर्न सकिनँ। अलिअलि गर्न सकेको भनेको यही हो। अहिलेसम्म औषधि केही खान परेको छैन। पहिला मकैको ढिँडो खान पर्यो, भोकै बस्न पर्यो भनेर रुनुपर्थ्यो। तर, अहिले सम्झिँदा लाग्छ- ऊबेला त्यही ढिँडो खाएर हिँडेको भएर नै अहिले औषधी खान नपरेको होला।'
उनले जे जति पनि काम गरे निकै खुसी र सन्तुष्ट भएर गरे।
'अब त आफ्नै उमेर सक्किन लागिसक्यो। अहिले सम्म छोराबुहारीलाई दुई पैसा माग्न परेको छैन। खुसी हुनलाई यति भए पुग्दैन र?,' उनले भने, 'थिमीमै पसल राखेको भएपनि हुन्थ्यो। तर, अब नगर्ने। घरकाले पनि काम नगर भनेका छन्। एक वर्षसम्म हेरौँ कति सकिन्छ!'
माघ ८, २०८० सोमबार १९:१०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।