रविमाथिको गम्भीर आरोपको प्रतिरक्षामा दायाँबायाँ स्वर्णिम र अनिलकेशरी : 'सेयर कारोबार मिलाउन कम्पनीले केही गरेको हुनसक्छ, तर म गलत छैन'

रविमाथिको गम्भीर आरोपको प्रतिरक्षामा दायाँबायाँ स्वर्णिम र अनिलकेशरी : 'सेयर कारोबार मिलाउन कम्पनीले केही गरेको हुनसक्छ, तर म गलत छैन'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियाको १५ प्रतिशत शेयर लिने-दिने प्रक्रियामा खुलेको कारोबारबारे प्रतिरक्षामा पार्टी पङती नै उत्रिएको छ। आफूमाथि लागेको आरोपबारे उनले गरेको पत्रकार सम्मेलनमा दायाँबायाँ स्वर्णिम वाग्ले र अनिलकेशरी शाह लगायतकाहरु बसेका थिए।

पत्रकार सम्मेलनमा उनले ग्यालेक्सी खोलेपछि सेयरको अपेक्षा गरेको तर लिने दिने काम नगरेको दाबी गरे। उनले पत्रकार सम्मेलनमा पटक-पटक प्रणाली स्थापित गर्नका लागि कारोबार देखिएको भनेका थिए।  

उनले ग्यालेक्सीको शेयर विक्री गरे बापत एक करोड ८० लाख नलिएको र आफ्नो खातामा पैसा नआएको दाबी गरे।

‘प्राइम बैङ्कबाट मेरो खातामा एक करोड ८० लाख हालिएको तर चेक क्लियरिङमा पठाउँदा आवश्यक बचत नभएकाले सो चेक फिर्ता भएको बैँकले खुलाएको छ,’ लामिछानेले पत्रकार सम्मेलनमा भने।

उनले आफ्नो खातामा रकम जम्मा नभएको भन्दै देखिएको कारोबार ‘(सेयर) प्रयोजन र प्रक्रियामा गरिएका कुरा हुन्। त्यहीबाट लिएको (सेयर) र त्यहीँ छाडेर हिँडेको हो।‘

उनले सञ्चारमाध्यममा हिलो छ्याप्न आफू राजनीतिमा नआएको बताए। ‘कसैले जम्मा गर्न खोज्यो होला। स्लिप आयो होला। त्यही बुझाए होला’ उनले पत्रकार सम्मेलनमा भने।

सोमबारको पत्रकार सम्मेलनमा उनी अन्य पत्रकार सम्मेलनमा भन्दा नरम देखिएका थिए। राजनीतिक नेतृत्व प्रश्नभन्दा पर बस्न सक्दैन भन्दै उनले प्रश्न गर्ने सञ्चारकर्मी र आम महानुभावलाई धन्यवाद दिएका थिए।

उनले मानहानिको मुद्दा अदालतमा दायर गरेको समेत खुलाएका थिए। उनले सहकारी ठगीमा आफूलाई जोडेर हेडलाइन आतङ्क मच्याउने काम गरेको उनको दाबी थियो। 

'सेयर कारोबार मिलाउन कम्पनीले केही गरेको हुनसक्छ। तर म गलत छैन' उनले भने।

उनले यस्तो कसले गर्यो आफूलाई थाहा नभएको भन्दै आफू पनि यसमा पीडित भएको दाबी गरे। उनले यस अगाडिको पत्रकार सम्मेलनमा मिडियाको नामै लिएर १२ भाइ भन्दै कटु आलोचना गरेकोमा सोमबारको पत्रकार सम्मेलनमा माफी मागेका थिए।

पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता सुशील पन्त समेत थिए। उनले पैसा नतिरी लिइने गुडविल सेयरका लागि पनि कारोबार भएको देखाउनुपर्ने कानुनी प्रक्रियाका लागि कम्पनीले यस्तो गरेको दाबी गरेका थिए।

'पैसा जम्मा गरेको स्लिप आयो। त्यसकै आधारमा सेयर ट्रान्सफर भयो। तर सम्बन्धित ब्यक्तीको खातामा पैसा आएको हुन्न। यो हाम्रो कानुनको कमजोरीका कारण भएको हो,' अर्यालले भने।

आफूसँग ग्यालेक्सी टेलिभिजनको सञ्चालक समितिको सबै बैठकको माइन्युट रहेको र कुनै पनि बैठकमा टेलिभिजनका लागि सहकारीबाट पैसा लिने निर्णय नभएको दाबी गरे।

माघ ८, २०८० सोमबार १७:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।