नेप्सेको अधिकांश समूह ओरालो लाग्यो, नेप्से २१ सय तल
काठमाडौँ : सोमबार नेप्से परिसूचक ३१.४९ अंक घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ। सोमबारको कारोबारमा सेन्सेटिभ इन्डेक्स ४.८४ अंक घट्यो भने फ्लोट इन्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७४ अंक घट्यो।
नेप्से मात्रै हैन, सोमबार कारोबार रकम समेत घटेर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भयो।
यस अगाडि ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। सोमबार ३०७ स्टकको १ लाख ५० हजार पटक कारोबारहुँदा पनि कारोबार रकमले सात अर्ब टेकेन।
१३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक घट्यो। व्यापार उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको थियो।
जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत घट्यो। बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढिले घट्यो।
सोमबारको कारोबारमा अप्पर साङ्गे हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशत बढ्यो। मीड सोलु हाइड्रोपावरको शेयर मूल्य करिब साढे ९ प्रतिशत बढ्यो। आशा लघुवित्तको शेयर मूल्य साढे ६ प्रतिशत बढ्यो।
सोमबारको कारोबारमा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ८.३३ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। रिइन्युयोरेन्सको ७८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।
ङादी ग्रुप पावरको ३१ करोडभन्दा बढीको शेयर कारोबार भयो भने अपि पावरको २४ करोडभन्दा माथि कारोबार भयो।
माघ ८, २०८० सोमबार १६:३१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।