कम्पनी प्रोफाइल : कलेज पढ्ने विद्यार्थीको हुटहुटीले खुलेको ई-सेवा जो बन्यो देशकै ठुलो डिजिटल पेमेन्ट कम्पनी
काठमाडौँ : विश्वास ढकाल लगायतका साथीले कलेजको पढाइपछि आफ्नै काम गर्नै हुटहुटी जाग्यो। त्यही हुटहुटीले सन् २००४ मा उनीहरूले यस्तो प्रविधिको विकास गरे जसले डिजिटल पेमेन्ट पद्धतिमा रेकर्ड नै बन्न पुग्यो।
प्रविधिको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटी बोकेको समूहले एफवानसफ्ट डोमेन जुराए। त्यही डोमेन पछि नेपालको सबैभन्दा धेरै डिजिटल पेमेन्ट गर्ने ई-सेवाको माउ कम्पनी बन्यो।
सुरुवाती चरणमा ढकालको टिमले अरूको लागि डोमेन जुराउँथे। पछि आफूले नै एउटा डोमेन जुराए र नाम दिए ‘एफवानसफ्ट’। यो कम्पनी स्थापना भएको २० वर्ष भइसक्यो। उक्त कम्पनीलाई सुरुमा एफवानसफ्ट कम्पनी मार्फत नै काम सुरु गरेको र इसेवा मार्फत पेमेन्ट सिस्टममा विकास भएको पनि १५ बर्ष लागिसक्यो।
एफवानसफ्टले सुरुवाती चरणमा डोमेन किन्न पेमेन्ट गर्ने सुविधा नेपालमा थिएन। त्यसको विकल्पमा विदेशमा रहेका साथीभाइको पेपाल अकाउन्ट प्रयोग गर्थे। अहिले त्यो अवस्था छैन। आजको दिनसम्म नेपाल राष्ट्र बैँकमा दर्ता भएका वालेट कम्पनीको सङ्ख्या नै २७ पुगिसक्यो।
कति वालेट कम्पनी अस्तित्व जोगाउने सङ्घर्षमा छन्, कति थप फैलँदै छन्। फैलनेमा ई-सेवा अग्रस्थानमा देखिन्छ। यस कम्पनीको प्रयोगकर्ताको सङ्ख्या मात्रै बढेको छैन कारोबार रकममा पनि सुधार गर्दै गइरहेको देखिन्छ।
मोबाइल रिचार्जदेखी हवाई टिकटसम्मको यात्रा
ई-सेवाको पहिलो काम मोबाइलमा रिचार्ज गर्ने सिस्टमबाट सुरुवात भएको देखिन्छ। सन् २००९ मा लक्ष्मी बैँकसँग सहकार्य गरेर ई-सेवाको अकाउन्टमा पैसा आउने बन्यो र रिचार्ज कार्डलाई कोरेर एक्सेल मार्फत ई-सेवाको सिस्टममा अपलोड गर्ने र कसैले रिर्चाज गरेपछि भुक्तानी हुने व्यवस्था मिल्यो।
तर, अहिले इन्टरनेटको बिल, बिजुलीको बिल, पानी, स्कुल, कलेजको मात्रै नभएर राष्ट्रिय अनि अन्तर्राष्ट्रिय उडानको लागि पनि ई-सेवाबाटै सहजै टिकट लिन सक्नेसम्मको सुविधा आइसक्यो।
कुनै समय ग्राहकको सिला खोज्नुपर्ने स्थितिमा रहेको ई-सेवा अहिले नेपालको सबैभन्दा बढी डाउनलोड भएको वालेट कम्पनी बनिसकेको देखिन्छ। यस वालेट कम्पनीको प्रयोगकर्ताको सङ्ख्या ८१ लाख छन् भने एजेन्टको सङ्ख्या २ लाख ५ हजार भन्दा बढी छन्। मर्चेन्टको सङ्ख्या ४ लाख छन्।
यसको एन्ड्रोइडमा एप डाउनलोड गर्नेको सङ्ख्या १ करोडको हाराहारीमा छ। आइओएसमार्फत एप डाउनलोड गर्नेको सङ्ख्या १२ लाख रहेको इसेवाका चिफ बिजनेस अफिसर आशिष् गौतमले बताए।
‘१ करोड २ लाखको हाराहारी एन्ड्रोइडमा एप डाउनलोड भएको छ। आइओएसमार्फत एप डाउनलोड गर्नेको सङ्ख्या १२ लाख छन्। ४ लाख ५० हजार मर्चेन्ट रहेको छ। यसमा पनि क्युआर मार्फत ३ लाख ५० भन्दा कभर गर्छ’ उनले भने।
ई-सेवा मार्फत विद्यालयदेखि विश्वविद्यालयसम्मको भुक्तानी गर्न सकिन्छ। अनलाइन कारोबार गर्न मिल्ने करिब करिब सबै सेवाको भुक्तानी गर्न मिल्ने गरी सिस्टम ई-सेवाले विकास गरेको देखिन्छ। कारोबारको हिसाबले ई-सेवामा दैनिक १ अर्ब भन्दा बढी लोड हुने कम्पनीको जनाएको छ।
‘हामीले दैनिक ई-सेवामा १ अर्ब २ लाख लोड गछौं, पछिल्लो समय यो सङ्ख्या बढ्दै गएको छ। बैङ्क कारोबार ७० करोड र ६० करोड मर्चेन्ट पेमेन्ट हुने गरेको छ’ गौतमले भने।
ई-सेवाको सिस्टम सेक्युरिटी कस्तो छ ?
ई-सेवाको जति पनि कारोबार विवरण कोर बैंकिङ्ग सिस्टम (सीबीएस) मा जान्छ। सीबीएसले यस्तो पेमेन्टलाई इनेबल गर्नुपर्छ भनेर त्यही हिसाबमा सिस्टम डिजाइन गरेको छ। तर, शतप्रतिशत नै सेक्योरर्ड हुन्छ नै भन्ने ग्यारेन्टी देखिँदैन। अहिलेसम्म समस्या नदेखिएको कम्पनीको दाबी छ।
ई-सेवा भनेको ‘पीसीआई डीएसएस’ सर्टिफाईड कम्पनी हो। पीसीआई भनेको थर्ड पार्टी कम्पनी, जो वर्ल्ड रिकगनाइज सर्टिफिकेट हो।
कुनै कम्पनी ‘पीसीआई डीएसएस’ सर्टिफाईड हो भने उसले मिनिमन स्ट्याण्डर्ड मेन्टेन गरेको हुनुपर्छ। त्यो गरेको छैन भने सर्टिफिकेसन पाइँदैन। त्यसैले, कम्पर्माइज भनेर ओपन कम्पर्माइज हुँदैन। जुन कार्डमा, इन्टरनेट, मोबाइल बैंकिङ्ग सबैमा आउँछ। यसमा पनि नआउला भन्न सकिँदैन। यो नियमित प्रक्रिया हरेक महिना सेक्युरिटी अडिट गराउने गरेको कम्पनीले जानकारी दिएको छ।
ई-सेवा बैङ्कको प्रतिस्पर्धी नभई सहयोगी
अरू देशमा वालेट कम्पनी बैङ्कको प्रतिस्पर्धाको रूपमा रहेको देखिन्छ। छिमेकी मुलुक चीनमा डिजिटल वालेट सेवा साँच्चिकै बैङ्कका प्रतिस्पर्धी हुन्, कारण एक पटक बैङ्कबाट पैसा वालेटमा सर्यो भने त्यो वालेट टु वालेटमा सर्कुलेशन हुन्छ, त्यो पैसा बैङ्कमा फर्कँदैन। अलिपे र वीच्याट जस्ता सेवाले आफ्नो इकोसिस्टमलाई त्यसरी विकास गरेका छन्। तर नेपालमा भने एक पटक वालेटमा पुगेर मर्चेन्ट पेमेन्ट भएपछि त्यो पैसा अर्को वालेटमा बैंकबाटै सार्न पर्छ।
‘हामीले वालेटलाई मात्रै फोकस गरेको भए सायद हामी बैङ्कका प्रतिस्पर्धी हुन सक्थ्यौँ होला, तर हामीले फोन पेमार्फत पेमेन्ट गेटवेलाई पनि प्रवर्द्धन गरिरहेका छौँ। त्यसैले हामी उनीहरूका सहयोगी हो’ गौतमले भने।
ई-सेवा होस वा फोन पे, ग्राहक सेवा खोज्दै आउने होइन, ग्राहकको हातमा सेवा पुग्नुपर्छ भन्ने मान्यतामा कम्पनीले आफूलाई अघि बढाएको बताउँछन् उनी।
सफ्टवेयर कम्पनीबाट वालेटमा रूपान्तरण
सुरुमा ई-सेवालाई सफ्टवेयर कम्पनी एफवानसफ्टको एउटा प्रडक्टका रूपमा विकसित भएको थियो। कम्पनीले अन्तर बैङ्क कारोबार बढाउँदै लगेपछि त्यसलाई एफवानसफ्टको प्रडक्टबाट सब्सिडरी कम्पनीमा रूपान्तरण गरियो। सन् २०१२ मा कम्पनीको नयाँ नाम बन्यो फोनपे प्रालि। ई-सेवा त्यसको प्रडक्टको रूपमा विकास भयो।
सन् २०१५ मा नेपाल राष्ट्र बैंकले अनलाइन वित्तीय कारोबारलाई नियमन गर्न थाल्यो। राष्ट्र बैंकले अनलाइन कारोबारलाई पेमेन्ट सिस्टम अपरेटर (पीएसआर) र पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) मा विभाजन गर्यो। ई-सेवाले पनि आफ्नो कारोबारलाई त्यसैअनुसार छुट्टायो।
वालेट बेस्ड सेवा सञ्चालनका लागि कम्पनीले पेमेन्ट सर्भिस प्रोभाइडरका रूपमा आफूलाई ई-सेवा फोनपे प्रालिमा रूपान्तरण गर्यो। अनि राष्ट्र बैङ्कबाट पीएसपी सेवाको लाइसेन्स पनि लियो। पीएसओ अन्तर्गत हुने अन्तर बैङ्क कारोबारका लागि सन् २०१९ मा कम्पनीले फोनपे पेमेन्ट सर्भिस प्रालि दर्ता गर्यो।
फोनपे क्युआर कोड पेमेन्टमार्फत पान पसलदेखि किराना पसलसम्म, म.म पसलदेखि ठुला रेष्टुरेण्टसम्मलाई जोडियो। यो कारोबारमा देशका करिब-करिब सबै बैङ्क, विकास बैङ्क, फाइनान्स र सहकारी जोडिएका छन्। र जोडिनेक्रम अझैँ जारी नै छ।
माघ ८, २०८० सोमबार १६:०१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।