पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षर प्रयोग गरि छ्यापछ्याप्ती नक्कली सर्टिफिकेट

पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षर प्रयोग गरि छ्यापछ्याप्ती नक्कली सर्टिफिकेट

काठमाडौं : प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिराटनगर २ का एस भट्ट भन्ने सम्बुद्व भट्टचार्यलाई पक्राउ गरेको हो ।

४० वर्षीय भट्टचार्यलाई महाराजगंजस्थित बाँसबारीबाट पक्राउ गरिएको हो। लामो सयमदेखि फरार रहेका भट्टचार्यलाई आइतबार साँझ पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले विभिन्न अस्पतालको नक्कली परिचयपत्र बनाई क्लिनिकहरूमा थाइराइड सम्बन्धी उपचार गर्ने गरेको खुलेको छ।

पक्राउ परेका भट्टचार्यलाई प्रहरीले आज सार्वजनिक गर्दै उनले विभिन्न क्लिनिकहरूबाट ४ लाख ८७ हजार ५ सय रूपैयाँ सर्वसाधारणहरूबाट ठगी गरेको जनाएको छ। 

प्रहरी अनुसन्धानका क्रममा भट्टचार्यले नक्सालस्थित वी केयर पोलिक्लिनिक र बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिकमा बिरामी जाँच गर्ने गरेको खुलेको हो।

प्रहरीका अनुसार नौ महिनादेखि उनी वी केयरमा काम गर्थे। त्यहाँ उनले ६३० बिरामीको जाँच गरेको खुलेको छ। प्रति बिरामी जाँच गरे बापत उनले वी केयरमा ७५० रूपैयाँ शुल्क लिने गरेका थिए। धौलागिरि क्लिनिकमा ३० जना बिरामी जाँच गरेको खुलेको हो । त्यहाँ प्रति बिरामी जाँच गरे बापत ५०० रूपैयाँ लिने गरेका थिए।

उनले तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरमा नक्कली सर्टिफिकेट बनाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनको साथबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नक्कली लेटरप्याड, नक्कली स्ट्याम्पहरू बरामद गरेको छ। 

प्रहरीका अनुसार टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ। प्रहरीले शिक्षण अस्पताल महाराजगंजमा ९७६० नम्बर दर्ता रहेको कार्ड समेत फेला पारेको छ। उक्त कार्ड समेत नक्कली रहेको खुलेको छ। 

माघ ८, २०८० सोमबार १५:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।