मोदीले प्राणप्रतिष्ठाको पूजा गर्दा राहुल गान्धीलाई मन्दिर प्रवेशमा रोक, बसे धर्ना

मोदीले प्राणप्रतिष्ठाको पूजा गर्दा राहुल गान्धीलाई मन्दिर प्रवेशमा रोक, बसे धर्ना

एजेन्सी : मन्दिर जान रोकेपछि कंग्रेस आईका नेता राहुल गान्धी असममा धर्ना बसेका छन्।

‘भारत जोडो न्याय यात्रा’को क्रममा राहुल गान्धी अहिले असममा छन्। नेता राहुल गान्धी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिरमा जान खोज्दा उनलाई प्रहरीले रोकेको थियो।

यस घटनाको एक भिडियो सार्वजनिक भएको छ, जसमा राहुल गान्धी आफ्नो कारबाट बाहिर निस्केर प्रहरीलाई किन रोकेको भनेर सोध्छन्।

भिडियोमा गान्धीले भनेका छन्, ‘के भयो? के म गएर ब्यारिकेड हेर्न सक्छु? म किन मन्दिर जान सक्दिन? मन्दिर जान नपाइने? मसँग अनुमति छ। मलाई मन्दिर प्रशासनले बोलाएको छ, म हात जोडेर भगवानको दर्शन गर्न चाहन्छु।’

घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी मन्दिर जान खोजिरहेका छौँ। हामीलाई बोलाइयो र अहिले जान दिइएन, आज एउटा मात्र व्यक्ति (प्रधानमन्त्री नरेन्द्र मोदी)मात्र मन्दिर जान पाउने देखिन्छ।’

आज अयोध्याको राम मन्दिरमा रामललाको मूर्तिको अभिषेक गरिएको छ। उक्त कार्यक्रममा देशका धेरै सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो।

प्राणप्रतिष्ठाको पूजा प्रधानमन्त्री नरेन्द्र मोदी र संघ प्रमुख मोहन भागवतले गरेका थिए। यस अवधिमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेल पनि गर्भगृहमा उपस्थित थिए।

माघ ८, २०८० सोमबार १४:०१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।