अर्जुनको उत्कृष्ट ब्याटिङले जोगाउन सकेन नेपाललाई, ६४ रनले न्युजिल्याण्डसँग पराजित
काठमाडौँ : आईसीसी यु-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ। दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो।
नेपाल जितको लागि ३०३ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको थियो। नेपालले पूरै ५० ओभर खेल्यो। ५० ओभरको क्षतिमा ९ विकेटको क्षतिमा नेपालले २ सय ३८ रन बनायो।
खेलमा नेपालका ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै १०४ बलमा ९० रन बनाएका थिए। उनले १२ चौका हानेका थिए।
देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर आउट भए। आकाश त्रिपाठी र गुलशन झा २–२ रनमा आउट भएका थिए। उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेल शून्य रनमै आउट भएका थिए।
तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गर्दा सुवासले ५२ बलमा ४ चौकासहित ३३ रन बनाएका थिए भने तिलकले १९ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाएका थिए।
न्युजिल्यान्डका मासन क्लार्कले ३ विकेट लिए। एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २-२ विकेट लिएका थिए।
टस जितेर न्युजिल्यान्डले पहिला ब्याटिङ रोजेको थियो। उसले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनायो। न्युजिल्यान्डका स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १ सय ४७ रन बनाएर नेपाल सामु विशाल लक्ष्य दिएका थिए।
कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन बनाएर आउट भएका थिए। ओपनर टम जोनसन ३३, ल्यूक वासटन १४ र एलेक्स थोमप्सजले १३ रन बनाएका थिए।
सुवास भण्डारीले ३, गुल्शन झाले २,तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १-१ विकेट लिएका थिए। समूह डी मा रहेको नेपालले बुधवार पाकिस्तान र शुक्रवार अफगानिस्तानसँग खेल्नेछ।
माघ ७, २०८० आइतबार २२:०६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।