सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए इच्छाराज, सहकारी ठगीको मुद्दा विचाराधीनै

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए इच्छाराज, सहकारी ठगीको मुद्दा विचाराधीनै

काठमाडौँ : नेपालमा कहिलिएका हाउजिङ व्यवसायी इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। सिभिल समूहबाट हाउजिङ क्षेत्रमा पकड जमाएका उनी सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन्।

एमालेबाट संविधानसभा सदस्य समेत भएका उनलाई आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति सुद्दीकरणको मुद्दामा दोषी ठहर गरेको हो।

२०७९ भदौ १६ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी श्रीमती सिर्जना, छोरी प्रतीक्षा र प्रतिष्ठा र मामाससुरा केशवराज श्रेष्ठ र मिनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेषमा मुद्दा दर्ता गरेको थियो।

इच्छाराज विरुद्ध ३ अर्ब ३१ करोड बिगो सहित उनको नाममा रहेको जग्गा र सम्पत्ति जफत हुनुपर्ने मागदाबी गरेको थियो।

विभागले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङसँग एक अर्ब ३० करोड बिगो, प्रतीक्षाको नाममा देखिएको ६ करोड ४७ लाख रुपैयाँ, घरजग्गा र शेयर र प्रतिष्ठाको नाममा देखिएको एक अर्ब ८९ करोड रुपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने मागदाबी गरेको थियो।

केशवलालको हकमा २६ करोड ६१ लाख बिगो, बैंकमा बचत रहेको रकम र सवारीसाधन जफत गर्नुपर्ने माग गरिएको थियो। दुई छोरीले भने सफाइ पाए अन्यको हकमा दोषी ठहर भयो।

दोषी ठहर भए पनि सजाय भने निर्धारण भएको छैन। ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भएकाले अदालतले आइतबार सजाय निर्धारण गरेन। सजाय तोक्न माघ २१ मा इजलास तोकिएको छ।

इन्जिनियर पढेका इच्छाराजले कलेजका साथीहरूसँग मिलेर सिभिल होम्स नामबाट घरजग्गा कारोबार सुरु गरेर कहिलिएका बिल्डर्स भएका थिए। घर जग्गा कारोबारसँगै उनी बैंक, मल र सहकारीमा समेत लागे।

उनले सिभिल सहकारी खोलेर बचतकर्ताहरूलाई उच्च ब्याजको प्रलोभनमा पारेर बचत गराएको रकम आफ्नो व्यापारिक स्वार्थमा प्रयोग गरे। सहकारीको नीति विपरीत बचत घर जग्गामा लगानी गरे। सिभिल बैंकमा लगानी गरेर अध्यक्ष भए।

बचतकर्ताहरूले बचत रकम फिर्ता माग्न थाले। उनीहरूले रकम फिर्ता दिन सकेनन् अनि बचतकर्ताहरूले उजुरी दिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्यो।

जिल्ला सरकारी वकिल कार्यालयले इच्छाराजलगायतविरुद्ध ५ अर्ब ६७ करोड रुपैयाँ मागदाबी लिएर ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। सहकारीको बचतकर्ताको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा गए। यता सम्पत्ति शुद्धीकरण विभागले पनि उनको सम्पत्तिको स्रोतबारे अनुसन्धान सुरु गरेको थियो।

सहकारी ठगीको मुद्दा छिनोफानो भएको छैन। बचतकर्ताले आफ्नो बचत पाएका छैनन्। यता सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानको आधारमा दायर भएको मुद्दामा विशेषबाट उनी दोषी ठहर भए।

माघ ७, २०८० आइतबार १८:३५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।