प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी विरुद्ध २५ रनमै अलआउट कोशी
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विरुद्ध कोशी प्रदेशले सहज जित निकालेको छ।
आज मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रनमै अलआउट भएको हो।
गण्डकी विरुद्ध १४२ रनको हारमा कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कोशीका कप्तान अंकित सुवेदीले आठ रन बनाए। कोशीका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए।
कोशीलाई सस्तैमा समेट्न गण्डकीका विपीन खत्रीले ६ विकेट लिए। सात ओभर बलिङ गरेका उनले तीन मेडन फ्याँक्दै चार रन मात्र खर्चिए। सन्दीप पराजुलीले तीन र अंकित न्यौपानेले एक विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले ४८.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो।
गण्डकीका मुस्कान थापाले ६७ रनको योगदान गरे। कप्तान विपीन खत्रीले ४३, कमल परियारले १३ रन जोडे।
कोशीका अभ्यास तिम्सिनाले ६ विकेट लिए। फिर्दोस अन्सारी, सोनु मण्डल र कमल खत्रीले समान एक विकेट लिए।
प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो। जितसँगै चार खेलबाट दुई अंक जोडेको गण्डकी तालिकाको आठौँ स्थानमा छ। ६ खेल खेल्दा पनि अंकविहीन कोसी पुछारमा छ।
माघ ७, २०८० आइतबार १७:३३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।