बोर्डमा काम गर्न नसकेको स्वीकार गर्दै राजीनामा दिने मुडमा पुगे भुवन केसी

बोर्डमा काम गर्न नसकेको स्वीकार गर्दै राजीनामा दिने मुडमा पुगे भुवन केसी

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो कार्यकाल सकिनै लाग्दा समेत कुनै काम गर्न नसकेको आरोप लाग्दै आएको छ।

उनी बोर्ड अध्यक्ष बनेपछि उनका अधिकांश कार्यहरू विवादित नै बन्दै आएका छन्। बोर्डमा पुगेपछि के के नै गर्छु भनेका केसी अन्ततः बोर्डबाट राजीनामा दिने निचोडमा पुगेका छन्।

कास्कीको सिक्लेसमा चलचित्र पत्रकार संघले गरेको ‘सिक्लेस सिनेमा र सरकारः हिजो आज र भोलि’ विषयक बहसमा अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई सुधार्न आफूले अन्तिम प्रयास गरिरहेको तर काम गर्न नसकेको स्वीकार गरेका छन्।

उनले भने, ‘यदि कसैले मेरो सट्टामा आएर चलचित्र विकास बोर्ड स्वायत्त बनाउँछु भनेर हात उठाउँछ भने एक ढंगले उहाँलाई भित्र्याउन तयार छु।’

अध्यक्ष केसीले बोर्डमा प्रवेश गर्दा अँध्यारो गुफामा मैनबत्ती लिएर छिरेको तर बोर्ड सञ्चार मन्त्रालय भित्र हराएको आरोप लगाए।

‘चलचित्र विकास बोर्डमा छिर्दा अँध्यारो गुफामा मैनबत्ती लिएर छिरेको थिएँ। कहीँ त पुगिएला-पुगिएला भन्ने थियो,’ उनले अगाडि भने, ‘त्यो ठाउँ (चलचित्र विकास बोर्ड)मा पुगेपछि मात्रै चलचित्रको विकास हुन्छ कि क्याहो भनेर गएको हो। चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालय भित्र हराएको रहेछ।’

उनले चलचित्र विकास बोर्डमा जागिर खान मात्र बसेको नभई काम गर्न गएको जिकिर गरे। पुरानो चलचित्र ऐनले बोर्ड चलिरहेको र नयाँ विधेयक पास गराउन आफू लागि परेको उनको भनाइ छ।

‘सञ्चारमन्त्री ज्यूले यथासिघ्र पास गर्न आफैं लाग्छु भनेर आश्वासन दिनुभएको छ। विश्वास गर्नैपर्यो। मेरै कार्यकालभित्र विधेयक पास गर्न सकिन्छ कि भनेर कोसिस त गर्नै पर्यो’, केसीले भने, ‘अन्तिम प्रयास भइराखेको छ। बोर्डमा जागिर खानलाई मात्र बसेको होइन।’

उनले चलचित्र विकास बोर्ड स्वायत्त र सञ्चार मन्त्रालयको अधिनमा हुन्जेल विकास बोर्ड अगाडि बढ्न नसक्ने बताए।

उनले थपे, ‘जबसम्म चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन। सञ्चार मन्त्रालयको अन्डरमा बोर्ड रहिरहन्छ, तबसम्म राष्ट्रिय चलचित्र र चलभित्रका विकास बोर्डको विकास हुन्न।’

बहसमा केसीसहित चलचित्रकर्मी आकाश अधिकारी, दीपा श्री निरौला, प्रकाश सायमी लगायत सहभागी छन्।

निर्देशक दीपा श्री निरौलाले सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखेको भन्दै दुखेको पोखेकी छन्। सरकारले चलचित्रलाई केवल मनोरञ्जन र रमाइलोको साधनका रुपमा मात्र लिएको लिएको उनको तर्क छ।

उनले भनिन्, ‘यत्रो कीर्तिमानी फिल्म बनायौँ। त्यो हामीले जति जानेका थियौँ त्यति नै बनाएका हौँ। तर, सरकारले आवश्यक तालिम सम्म पनि दिँदैन।’

यता अभिनेता आकाश अधिकारीले सरकारले चलचित्र उद्योगलाई उद्योगका रुपमा विकास गर्न नचाहेको बताए। भुवन केसीको कुरालाई साँची राख्दै उनले चलचित्रसम्बन्धी कार्यक्रमहरूमा मन्त्रीहरूले बोलेर मात्रै यो क्षेत्रको विकास नहुने तर्क गरे।

उनले भने, ‘जुनसुकै कुराको स्पष्ट नीति तथा कानुन बन्दैन, तबसम्म केही हुँदैन। मन्त्रीहरूले बोलेर मात्रै हुँदैन। कागजमा के लेखिएको छ भन्नेले फरक पार्छ।’

माघ ६ गतेबाट कास्कीको सिक्लेसमा चलचित्र पत्रकार संघले गरेको ‘सिक्लेस सिनेमा र सरकारः हिजो आज र भोलि’ विषयक जारी बहस भोलि सम्म बहस चल्ने छ।

माघ ७, २०८० आइतबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।