रुपन्देहीको सीता माविमा प्रधानाध्यापक, लेखा प्रमुख र वडा अध्यक्षको मिलेमतोमा ९ लाख बढी हिनामिना, स्थानीयको विरोध प्रदर्शन

रुपन्देहीको सीता माविमा प्रधानाध्यापक, लेखा प्रमुख र वडा अध्यक्षको मिलेमतोमा ९ लाख बढी हिनामिना, स्थानीयको विरोध प्रदर्शन

बुटवल : रुपन्देहीको देवदह -१० चरङगेस्थित सीता माध्यमिक विद्यालयमा लाखौं रूपैयाँको अनियमितता भएको भन्दै विरोध प्रदर्शन भएको छ।

विद्यालयका तत्कालीन लेखा प्रमुख, पूर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा ९ लाख २५ हजार ३ सय ९१ रूपैयाँ अनियमितता भएको पाइएको हो।

विद्यालयले गत ४ वर्षदेखि लेखापरीक्षण नगरेकोले हालसम्म अनियमितताबारे बाहिर आउन सकेको थिएन। विद्यालयले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्ने क्रममा उक्त रकम हिनामिना भएको पाइएको वर्तमान प्रधानाध्यापक उमाकान्त अधिकारीले बताए।

आव २०७८/०७९ को लेखापरीक्षण गत पौष १२ गते सम्पन्न भएपछि मात्र विद्यालयमा अनियमितता भएको आफूहरूले थाहा पाएको प्रधानाध्यापक अधिकारीले बताए। अधिकारीले आफू गत वैशाखमा  त्यहाँ प्रधानाध्यापक भएर जानेबित्तिकै विद्यालयको हरहिसाबको लेखापरीक्षण थालेको र अनियमितता भएको पाइएको बताए।

उनका अनुसार लेखापरीक्षण गर्ने क्रममा पूर्व लेखा प्रमुख लालबहादुर रुचालको नामबाट दुई किस्तामा ९ लाख २५ हजार ३ सय ९१ रूपैयाँ असुल गरेको देखिएको छ।

२०७९ सालदेखि उक्त रकम विद्यालयको खातामा पनि नआएको र त्यसको हिसाबकिताब पनि नभएको पाइएको प्रधानाध्यापक अधिकारीको भनाइ छ। तत्कालीन अवस्थामा विद्यालय व्यवस्थापन समिति विघटन भएको बेला वडाअध्यक्ष यकबहादुर सुनार कार्यवाहक अध्यक्ष थिए भने त्यो बेला प्रधानाध्यापक महेश थैव थिए।

उक्त रकम करिब २ बर्ष विद्यालयको बैंक खातामा नभई व्यक्तिहरूले चलाएको पाइएको छ।

विद्यालय व्यवस्थापन समिति र नगरपालिकाको शिक्षा शाखाले विद्यालयका कर्मचारीलाई नियमन गर्न नसक्दा विद्यालयमा आर्थिक हिनामिना भएको स्थानीयको आरोप छ।

स्थानीय युवाहरूले विद्यालयको आर्थिक हिनामिना भएको भन्दै विद्यालयमा नाराबाजी समेत गरेका छन्। विद्यालयले वार्षिक रुपमा नगरपालिकाको शिक्षा शाखालाई आर्थिक अडिट बुझाउनु पर्नेमा नगरपालिकाले वेवास्ता गर्दा आर्थिक हिनामिना भएको स्थानीय मिनबहादुर गाहाले बताए।

विद्यालयको आर्थिक हिनामिना गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ। कारबाही नगरेमा थप आन्दोलन गर्ने गाहाले बताए।

ती युवाहरूले विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विद्यालयमा नै पुगेर विरोध गरेका थिए।

यसैबीच, विद्यालयमा भएको आर्थिक हिनामिनाको बारेमा तत्कालीन लेखा प्रमुख र पूर्व प्रधानाध्यापकलाई बोलाएर छलफल गर्न लागिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह १० का वडाअध्यक्ष यकबहादुर सुनारले बताए।

७ माघ, २०८०, १५:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।