विद्यार्थीलाई म्याद गुज्रेको औषधि खुवाउने कर्मचारीलाई बाटोमै मोटरसाइकल रोकेर वैद्यको पार्टीले दल्यो कालोमोसो

विद्यार्थीलाई म्याद गुज्रेको औषधि खुवाउने कर्मचारीलाई बाटोमै मोटरसाइकल रोकेर वैद्यको पार्टीले दल्यो कालोमोसो

काठमाडौं : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कार्यालय जाँदै गरेका सरकारी कर्मचारीको मोटरसाइकल रोकेर मोसो दलेको छ।

आइतबार कार्यालय जाँदै गरेका बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय)लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बागलुङ कमिटीले मोसो दलेको छ।

म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका विद्यार्थीको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाहीस्वरूप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रवीणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिसनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो।’

गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरेको उनीहरूको आरोप छ।

कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षडयन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ।

केही समयअघि बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरन चक्कीको म्याद गुज्रेको विषयमा स्थानीय सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो।

समाचार प्रकाशनपछि बडिगाड गाउँपालिकाले पत्रकार सम्मेलन खण्डनसमेत गरेको थियो। यद्यपि स्वास्थ्य शाखाका कर्मचारीले भने गल्ती स्वीकार गरेका थिए।

माघ ७, २०८० आइतबार १२:४६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।