यू–१९ विश्वकप : आज नेपालको पहिलो खेल न्युजिल्यान्डसँग, अपराजित यात्रा कायम राख्ने लक्ष्य
काठमाडौं : आईसीसी यू–१९ विश्वकप–२०२४ मा नेपालले आफ्नो पहिलो खेलका लागि न्युजिल्यान्डविरुद्ध मैदानमा उत्रिँदैछ।
आज दक्षिण अफ्रिकाका इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजदेखि सुरू हुनेछ।
यू–१९ विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्डविरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ।
नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धको दुवै खेलमा जित निकालेको थियो। यसअघि नेपालले सन् २००६ मा भएको यू–१९ विश्वकपमा एक विकेटले सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले हराएको थियो।
यू–१९ विश्वकपमा नेपालले आठ वर्षपछि खेल्ने लागेको हो। यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो। त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको चुनौती समाप्त भएको थियो।
प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ। यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ।
माघ ७, २०८० आइतबार ०८:०६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।