विदेशिनका लागि छ महिनामा तीन लाखले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै युएई

विदेशिनका लागि छ महिनामा तीन लाखले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै युएई

काठमाडौं : श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पछिल्लो ६ महिना तीन लाख बढी पुगेको छ।

वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको जानकारी दिएको छ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए।

उप्रेतीले भने, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो।’

पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएई जानेहरू रहेको विभागले जनाएको छ।

विभागको तथ्याङ्कअनुसार युएईका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन्।

माघ ६, २०८० शनिबार १८:५६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।