गठबन्धन पाँचै वर्ष जाने वर्षमान पुनको दाबी

गठबन्धन पाँचै वर्ष जाने वर्षमान पुनको दाबी

काठमाडौँ : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन्। अर्थमन्त्रीको रूपमा सरकारमा प्रवेशको तयारीमा रहेको भन्दै चर्चामा रहेका पुनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि नहुने दाबी गरे।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार र मतदाताबिच शनिवार काठमाण्डौंको गोकर्णमा भएको अन्तरक्रियामा उनले संविधानको रक्षा र कार्यान्वयनका लागि गठबन्धन बनेको भन्दै मुलुकको अहिलेको आवश्यकता यही रहेको दाबी गरेका थिए।

‘यो संविधानको रक्षा र कार्यान्वयनका लागि बनाइएको गठबन्धन हो’, पुनले भने, ‘यो कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई नेपालको अहिलेको आवश्यकता हो। वामपन्थी–प्रगतिशील र लोकतान्त्रिक शक्ति नमिली नेपालले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न सक्दैन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन आबद्ध दल र ती दलका प्रमुख नेताहरूको विश्वास जितेका कारण पनि गठबन्धन पाँचै वर्ष जाने आधार तयार भएको उनको दाबी थियो। पुनले सरकारले संसद्को हिउँदे अधिवेशनमा सङ्घीय निजामती र सङ्घीय प्रहरी ऐन पारित गर्ने गरी गृहकार्य गरिरहेकाले सङ्घीयता कार्यान्वयनमा भएको विलम्ब चाँडै हट्नेसमेत बताए।

नेपाल सङ्घीयताको नयाँ अभ्यासमा रहेको र सङ्घीयताको चरित्र समन्वयात्मक रहेको भन्दै पुनले मुख्यमन्त्रीहरूको असन्तुष्टि छिट्टै सम्बोधन हुने गरी प्रधानमन्त्रीले काम अघि बढाएको बताए।

माघ ६, २०८० शनिबार १८:०१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।