‘नेपालीलाई रूसी सेनामा भर्ती नगर्नु, गरेकालाई ​​​​​​​पनि फिर्ता पठाइदिनु’

‘नेपालीलाई रूसी सेनामा भर्ती नगर्नु, गरेकालाई ​​​​​​​पनि फिर्ता पठाइदिनु’

 

काठमाडौं : ‘नाम’ शिखर सम्मेलनमा भाग लिन युगान्डा पुगेका परराष्ट्रमन्त्री एनपी साउदले रूसी सहायक विदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटवार्ता गरेका छन्।

युगाण्डाको राजधानी कम्पालामा रूसी सहायक विदेशमन्त्रीसँग भएको भेटमा परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकहरूलाई रूसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्।

‘हामीले रूसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रूसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन समेत आग्रह गरेका छन्।

जवाफमा रूसी सहायक विदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने आश्वासन दिए। रूसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

‘हाम्रो सम्बन्धको जग बलियो छ,’ रूसी उपविदेशमन्त्रीले भने, ‘हामीले यी सम्बन्धलाई अगाडि बढाउनु पर्छ।’

माघ ६, २०८० शनिबार १७:५२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।