१० वर्षमा नेपाल टेस्ट राष्ट्र बन्ने क्यान सचिव खड्काको दाबी

१० वर्षमा नेपाल टेस्ट राष्ट्र बन्ने क्यान सचिव खड्काको दाबी

 

काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाललाई अबको १० वर्षमा टेस्ट राष्ट्र बनाउने लक्ष्य रहेको बताए।

आज गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्यानका पदाधिकारीलाई गरेको सम्मान कार्यक्रममा उनले मुलुकलाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।

‘क्रिकेटका गतिविधिहरूमा साझेदारी बलियो बनाउन विश्वभरका नेपालीलाई जोड्न जरुरी छ,’ उनले भने।

थोरै लगानीमा यो स्थितिसम्म आइपुगेको भन्दै उनले क्रिकेटको संरचना पनि विकास हुन थालेको जानकारी दिए। अब राष्ट्रिय क्रिकेट मात्र होइन, जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

महिला क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको उनको भनाइ छ।

‘महिला क्रिकेटमा २००७ सम्म राम्रो थियो। एसीसीसम्म पुग्यो। तर, पछि खस्कियो। लगानी नै भएन,’ उनले भने, ‘क्यानमा नयाँ टिम आइसकेपछि महिला टिमलाई प्राथमिकतामा राखेका छौँ। सन् २०२६ बाट महिला टिमले राम्रो नतिजा ल्याउने गरी तयारी गरिरहेका छौँ।’

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी–२० विश्वकप २०२४ मा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो।

माघ ६, २०८० शनिबार १६:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।