पहिचानवादीहरूसँग वार्ता गर्न कोशी प्रदेश सरकारले बनायो वार्ता समिति
काठमाडौं : कोशी प्रदेश सरकारले पहिचानवादीहरूसँग वार्ता गर्न वार्ता समिति बनाएको छ।
प्रदेश मन्त्रिपरिषद्को शनिबार बिहान सम्पन्न बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पक्षसँग वार्ताका लागि वार्ता समिति बनाएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले जानकारी दिए।
वार्ता टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन्।
जबेगु एकीकृत समाजवादीका र उप्रेती माओवादीका नेता हुन्। वार्ता टोलीमा नेपाली कांग्रेसको प्रतिनिधि छैनन्।
प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ आन्दोलनमा छ। नेताहरूलाई अवरोध गर्ने, बन्द हड्ताल गर्ने जस्ता कार्यक्रमहरू समितिले गर्दै आएको छ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा दुई चरणमा वार्ता भएयता राजनीतिक अस्थिरताका कारण प्रदेशमा वार्ता हुन सकेको थिएन।
फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरूद्ध आन्दोलन सुरू भएको थियो।
कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने माग गरिरहेका छन्।
यसक्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको थियो।
माघ ६, २०८० शनिबार १३:३४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।