राप्रपाले कोशीमा सभामुख फिर्ता लिनुपर्ने लोहनीको निर्देशन, लिङ्देन भन्छन्- हावादारी निर्देशन मान्दैनौँ

राप्रपाले कोशीमा सभामुख फिर्ता लिनुपर्ने लोहनीको निर्देशन, लिङ्देन भन्छन्- हावादारी निर्देशन मान्दैनौँ

काठमाडौं : कोशी प्रदेशको सभामुखबाट राष्ट्रिय प्रजातन्त्र पार्टी फिर्ता हुनुपर्ने निर्देशनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले ‘हावादारी’ को संज्ञा दिएका छन्।

कोशीमा राप्रपा सांसद अम्बरबहादुर विष्ट गत पुस २४ गते सभामुख बनेका थिए। सोही दिन राप्रपा केन्द्रीय निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीले बैठक गरी सभामुखबाट उम्मेदवारी फिर्ता लिनुपर्ने निर्देशन दिए पनि अहिलेसम्म त्यो निर्देशन अलपत्र छ।

लोहनीले विधान विपरीत निर्देशन दिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देन असन्तुष्ट छन्।

लिङ्देनले हालै एक टेलिभिजन अन्तर्वार्तामा लोहनीले जारी गरेको निर्देशन पार्टीले मान्न नसक्ने बताएका थिए।

‘जुन ढंगले पार्टीमा अलग शक्ति केन्द्र बनाउने हिसाबले निर्देशन दिने कुरा भएको छ, त्यो राप्रपामा स्वीकार्य हुँदैन,’ लिङ्देनले भनेका छन्, ‘त्यो निर्देशन अधिकार क्षेत्रभन्दा बाहिर गएर दिइएको छ। अध्यक्ष स्वदेश फर्कनुअघि दिइएको छ।’

लोहनीले पठाएको निर्देशनलाई अध्यक्ष लिङ्देनले अनधिकृत भएको आरोप लगाउँदैउनले भने, ‘अध्यक्ष स्वदेश फर्कने दिन कू गरे जसरी निर्देशन दिइयो, त्यो हावादारी निर्देशन स्वीकार्य छैन। राप्रपामा विगतदेखि हुर्केको विकृतिको यो सानो अंश हो, साथीहरूलाई सच्चिन आग्रह गर्दछु।’

यता, सभामुख चयन भएपछि नै विष्टले भने राप्रपाबाट अलग्गिएको घोषणा गरिसकेका छन्।

माघ ६, २०८० शनिबार १२:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।