एकअर्कामाथि आक्रमण गरेसँगै इरान-पाकिस्तान कूटनीतिक सम्बन्ध पुरानै अवस्थामा

एकअर्कामाथि आक्रमण गरेसँगै इरान-पाकिस्तान कूटनीतिक सम्बन्ध पुरानै अवस्थामा

एजेन्सी : एकअर्कामाथि आक्रमण भएपछि इरान–पाकिस्तान कूटनीतिक सम्बन्ध पुनः पुरानै अवस्थामा आएको छ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक कक्कडको कार्यालयले पाकिस्तान र इरानबीचको कूटनीतिक सम्बन्ध फेरि पुरानै अवस्थामा आइपुगेको जनाएको हो।

दुवै देशका राजदूत छिट्टै आ–आफ्नो पदमा फर्किने अपेक्षा गरिएको छ। तर, यस विषयमा इरानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

एकअर्काको भू-भागमा रहेको कथित अतिवादी अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमणपछि दुवै देशले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएका थिए।

इरानले मंगलबार बलुचिस्तान प्रान्तमा आक्रमण गरेको थियो, जसमा पाकिस्तानले दुई जनाको मृत्यु भएको जनाएको छ।

त्यसपछि पाकिस्तानले बिहीबार इरानमाथि आक्रमण गरेको थियो। इरानले यी आक्रमणमा नौ जनाको ज्यान गएको जनाएको छ।

यसअघि शुक्रबार दुई देशका विदेशमन्त्रीबीच भएको फोन वार्तामा पाकिस्तानले इरानसँग सबै मुद्दामा काम गर्ने इच्छा व्यक्त गरेको थियो।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री जलील अब्बास जिलानीले इरानसँग पारस्परिक विश्वास र सहयोगको भावनामा सबै मुद्दाहरूमा काम गर्ने पाकिस्तानको इच्छा व्यक्त गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले परिस्थितिलाई सामान्य बनाउन सहमत भए र दुवै देशका राजदूतहरूलाई एकअर्काको राजधानीमा फिर्ता बोलाउने विषयमा पनि छलफल भयो।’

माघ ६, २०८० शनिबार ११:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।