काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेर गए प्रदीप परियार

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेर गए प्रदीप परियार

 

काठमाडौं : सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय योजना आयोगका सहसचिवका रूपमा कार्यरत परियारलाई काठमाडौं महानगर पठाउने निर्णय गरेको हो।

राष्ट्रिय योजना आयोगमा हुनुअघि परियार सहरी विकास मन्त्रालयमा थिए।

यता, मन्त्रालयले यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा सरुवा गरेको छ।

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबीच विवाद सुरू भएको थियो।त्यसपछि उनलाई माघ १० गते सम्मका लागि विदामा बस्न भनिएको थियो।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर, त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ। 

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो।

विवादकै बीच शाहकै निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो।

 

माघ ५, २०८० शुक्रबार १८:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।