धरानमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध
काठमाडौं : धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ।
मेयर हर्कराज राई (सम्पाङ)ले आज एक सूचनामार्फत अबको १५ दिनपछि सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइने जानकारी दिए।
उपमहानगरले सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पान परागसहितका सूर्तीजन्य पदार्थ भण्डार गर्न, बिक्री गर्न तथा प्रयोग गर्न रोक लगाइएको सूचनामा उल्लेख छ। कसैले अवज्ञा गरे नगर प्रहरीमार्फत जफत गरी कानुनबमोजिम कारबाही गरिने उपमहानगरको चेतावनी छ।
यसअघि काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्।
माघ ५, २०८० शुक्रबार १७:४५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।