प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले हरायो कोशीलाई

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले हरायो कोशीलाई

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशविरुद्ध ६४ रनको सहज जित निकालेको छ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले प्रस्तुत गरेको २७४ रनको लक्ष्य पछ्याउँदै कोशीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो।

कोशीका दुई ब्याटरले अर्धशतक बनाए। कोशीका सुजन थपलियाले ५९ रन बनाए। कप्तान अंकित सुवेदीले ५३ रन थपे। आइस भट्टराईले ३२, सोनु अन्सारीले २१ र हेमन्त राईले १० रन जोडे।

कोशीविरुद्ध कसिलो बलिङ गरेका बागमतीका इशान पाण्डेले पाँच विकेट लिए। आठ ओभर बलिङमा इशानले ३९ रनमात्र खर्चिए।

सूर्य तामाङले दुई विकेट लिँदा रिजन ढकाल र प्रतीक श्रेष्ठले समान एक विकेट लिए।

त्यसअघि आशुतोस घिरैयाले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २७३ रन जोड्यो।

बागमतीका ओपनर आशुतोसले १११ बलमा १६ चौका र दुई छक्कासहित ११८ रन बनाए। कप्तान रित गौतमले ४९ रन थपे। रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन जोडे।

कोशीका अभ्यास तिम्सिनाले तीन विकेट लिए। कमल खत्री र हेमन्त राईले समान दुई विकेट लिँदा फिर्दोस अन्सारीले एक विकेट लिए।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेल्दा पनि जितविहीन कोशी तालिकाको पुछारमा छ।

माघ ५, २०८० शुक्रबार १७:०९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।