राजतन्त्रको आलोचना गर्ने थाइ नागरिकलाई ५० वर्ष जेल सजाय
एजेन्सी : थाइल्यान्डका राजा र राजतन्त्रको आलोचना गरेको आरोपमा त्यहाँका एक नागरिकलाई ५० वर्ष जेल सजाय सुनाइएको छ। सजाय पाउनेमा प्रजातन्त्र अभियन्ता ३० वर्षीय मोङकोल थिराकोट छन्।
३ वर्ष अघि सामाजिक सञ्जालमा फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतको ठहर छ। मुलुकको कडा शाही अपमानविरोधी कानुन अन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो।
थाइल्याण्डमा राजा महा बजिरालोङकोर्न र उनका परिवारलाई आलोचना गर्नेविरुद्ध ‘लेज–म्याजेस्टे’ कानुन लागू गरिएको छ। सन् २०१९ मा बजिरालोङकोर्न राजा बनेपछि हटाइएको ‘लेज–म्याजेस्टे’ कानून पुनः लागू गरिएको हो।
थाइल्याण्डमा पछिल्लो समय विद्यार्थीहरूले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन गर्दै आएका छन्। उक्त आन्दोलनलाई हेर्दै यस कानुनको प्रयोग बढाइएको छ।
सन् २०२० यता २५० भन्दा बढी अभियन्तालाई ‘लेज–म्याजेस्टे’ कानुनअन्तर्गत कारबाही गरिएको छ।
माघ ५, २०८० शुक्रबार १५:१०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।