राष्ट्रियसभा निर्वाचन : खर्च ४ करोड, ६ हजार ९१० मतपत्र

राष्ट्रियसभा निर्वाचन : खर्च ४ करोड, ६ हजार ९१० मतपत्र

 

काठमाडौं : आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई चार करोड निकासा गरेको छ।

अर्थ मन्त्रालयका सूचना अधिकारी भुपालराज शाक्यका अनुसार मन्त्रालयबाट चार करोड आठ हजार ७०० रूपैयाँ निकासा गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको सुरक्षा निकायका लागि छुट्टै खर्चको व्यवस्थापन गरिएको छैन।

त्यस्तै, आज निर्वाचनका लागि ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जानकारी दिए। उनका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छापिएको छ।

कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, बागमती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र पठाइएको उनले बताए।

त्यस्तै, गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र छापिएको छ।

कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र पठाइएको छ।

माघ ५, २०८० शुक्रबार १३:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।