प्रधानमन्त्री कप : आशुतोषको शतकमा कोशीलाई बागमतीले दियो २७४ रनको लक्ष्य
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई २७४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको बागमती ४८.२ ओभरमा सबै विकेट गुमाएर २७३ रनमा समेटियो।
उसका लागि आशुतोष घिराइयाले शतक प्रहार गरे। १११ बलको सामना गरेका उनले १६ चौका र दुई छक्का प्रहार गर्दै ११८ रन जोडे।
त्यसबाहेक कप्तान रित गौतमले ४९, रविन जोशी ४३, प्रतिक श्रेष्ठ १९ रन बनाएर आउट भए। अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गरेनन्।
कोशीका अभ्यास तिमिल्सिनाले तीन, कमल खत्री र हेमन्त राईले समान दुई-दुई तथा फिरदोष अन्सारीले एक विकेट लिए।
कोशीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
अंकतालिका हेर्ने हो भने सुदूरपश्चिम प्रदेश तीन खेलमा छ अंकसहित शीर्ष स्थानमा छ।
दुई खेल मात्र खेलेको नेपाल पुलिस क्लब चार अंकसहित दोस्रो स्थानमा हुँदा समान अंक रहेको आर्मी, एपीएफ र बागमती प्रदेश क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छ।
माघ ५, २०८० शुक्रबार १३:०२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।