संगीतकार तथा गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन
काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ।
उनको बिहीबार राति साढे १२ बजे सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको संगीतकार सुरेश अधिकारीले जानकारी दिए।
बिहीबार दिउँसो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
वैद्यको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिने परिवारले जनाएको छ।
वैद्य नेपाली गीतसंगीत तथा नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन्। उनका ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका थुप्रै गीत संगीत लोकप्रिय छन्।
गायक वैद्यले नेपाल भाषामा गाएको गीत ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन्।
१२ वर्ष ९ महिनामै एसएलसी पास गरेका वैद्यले त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पास गरेका थिए। ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनका एक छोरा र दुई छोरी छन्।
माघ ५, २०८० शुक्रबार १२:०५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।