चितवनको केराघारीमा रोल्पाका युवकको शव भेटियो

चितवनको केराघारीमा रोल्पाका युवकको शव भेटियो

चितवन : जिल्लाको खैरहनी नगरपालिका-१३ गौवास्थित ढुंग्रेखोलाको केराघारीमा एक जनाको शव भेटिएको छ।

खैरहनी नगरपालिका-१२ बस्ने हरि पाठकको जग्गामा एकला महतोले लगाएको केराघारीभित्र बिहीबार दिउँसो एक पुरुषको शव भेटिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका-१ घर भएको २५ वर्षीय विक्रम रोका मगर नाम गरेको लाइसेन्स भेटिएको कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रबि कुमार पौडेलले जानकारी दिए।

पौडेलका अनुसार मृतकको शरीरमा ठूलो चोटपटक नदेखिएको, घुँडामा कोतरिएको जस्तो रहेको र एक÷दुई दिन अगाडि मृत्यु भएको जस्तो देखिएको छ।

शवको मुचुल्कापछि पोस्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल लगिएको छ। मृतकको पहिचान र आफन्तको सम्पर्कको लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौंका एक व्यक्तिले मौरी चराउने कामका लागि खटाएको खुल्न आएको छ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ।

माघ ५, २०८० शुक्रबार ०९:४७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।