एसियन कप फुटबलमा भारतको लगातार दोस्रो हार

एसियन कप फुटबलमा भारतको लगातार दोस्रो हार

काठमाडौं : कतारमा जारी एसिया कपमा भारतले लगातार दोश्रो हार बेहोरेको छ।

कतारको अहमेद बिन अली रंगशालामा भएको समूह 'बी'को खेलमा भारत उज्वेकिस्तानसँग ३-० गोलअन्तरले पराजित भएको हो।

उज्वेकिस्तानका लागि पहिलो हाफको चौथो मिनेटमै अबोसबेकले पहिलो गोल गरेका थिए।

त्यसपछि खेलको १८औं मिनेटमा इगोर सेर्जिव तथा पहिलो हाफको इन्जुरी समयमा शेर्जोले गोल गर्दै उज्वेकिस्तानलाई ३-० को अग्रता दिलाए।

पहिलो हाफमा कमजोर देखिएको भारत दोश्रो हाफमा भने केही सुधारिएको देखिए पनि दुवै टोलीबाट गोल भने भएन।

लगातार दोश्रो हारपछि भारतको दोश्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ। भारतले अब सिरियासँग खेल्न बाँकी छ।

समूह 'बी'मा अष्ट्रेलिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा उज्वेकिस्तान चार अंकसहित दोश्रो स्थानमा छ। सिरिया १ अंक सहित तेश्रो स्थानमा रहँदा शून्य अंकसहित भारत पुच्छारमा छ।

माघ ५, २०८० शुक्रबार ०७:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।