प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : मधेशसँग एपीएफ ५ विकेटले पराजित
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफ क्लब मधेश प्रदेशविरुद्ध पाँच विकेटले पराजित भएको छ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा तीन ब्याटरले अर्धशतक बनाएपछि एपीएफले प्रस्तुत गरेको २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
मधेशको जितमा रुपेश सिंहले अविजित ७२ रन बनाए। उनले ७२ बलमा चार चौका र तीन छक्का प्रहार गरे। पवन सर्राफले चार चौका र पाँच छक्कासहित ६६ बलमा ६४ रन बनाए।
यता, निरज यादवले ७० बलमा तीन चौका र दुई छक्कासहित ५२ रन बनाए। यसबाहेक, अनिल साहले २९ र अभिषेक तिवारीले १३ रन बनाए।
एपीएफका रमेश कुर्मी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङमा आएको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा गरेको थियो।
एपीएफका आसिफ सेखले ५९ रन बनाएका थिए। कप्तान रोहित पौडेल ५८ रन थपे अमरसिंह रौटेलाले ४९ र सन्दीप जोराले २० रन जोडे।
मधेशका रुपेश सिंह र प्रदीप पासवानले समान तीन विकेट लिए। रञ्जित कुमारले दुई र अर्निको यादवले एक विकेट लिए।
जितसँगै चार खेलबाट दुई अंक जोडेको मधेश तालिकाको सातौँ स्थानमा उक्लिएको छ। तीन खेलबाट चार अंक जोडेको एपीएफ तालिकाको चौथो स्थानमा छ।
माघ ४, २०८० बिहीबार १७:५७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।