प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि आर्मीको शानदार जित, शाहब एक्लैले लिए छ विकेट

प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि आर्मीको शानदार जित, शाहब एक्लैले लिए छ विकेट

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा कोशी प्रदेशमाथि त्रिभुवन आर्मी क्लबले नौ विकेटको शानदार जित निकालेको छ।

कोशीले दिएको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमा एक विकेट पूरा गुमाएर पूरा गर्यो।

उसका लागि इमरान शेखले ३२ रन बनाएर आउट हुँदा सन्तोष कार्की र कुशल मल्ल क्रमशः २७ बलमा ३२ र ७ बलमा २२ रनमा अविजित रहे।

कोशीका सुजन थपलियाले एक विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कोशी प्रदेशले २४.४ ओभरमा सबै विकेट गुमाएर मात्र ८८ रन जोड्यो।

उसका लागि कप्तान अंकित सुवेदीले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कोशीका पाँच खेलाडी शून्य रनमा आउट भए।

आर्मीका लागि ६.४ ओभर बलिङ गरेका शाहब आलमले १४ रन दिएर छ विकेट लिए। कुशल मल्लले दुई विकेट हात पार्दा सोमपाल कामी र विवेक यादवले एक-एक विकेट चट्काए।

बुधबार मुलपानी मैदानमै भएको खेलमा आर्मी बागमती प्रदेशसँग तीन विकेटले पराजित भएको थियो।

माघ ४, २०८० बिहीबार १२:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।