बैँकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले फेरि बैँकिङ प्रणालीबाट २० अर्ब रूपैँया तान्ने भएको छ।
अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज बैँकिङ प्रणालीबाट २० अर्ब रूपैयाँ तान्ने भएको हो। जसका लागि बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैछ।
१४ दिने निक्षेप संकलन यस उपकरणको माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
माघ महिनामा यो दोस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। हिजो पनि राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बैँकिङ प्रणालीबाट तानेको थियो।
यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैँकिङ प्रणालीबाट पैसा तानेको छ। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रूपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रूपैयाँ तानेको थियो।
माघ ४, २०८० बिहीबार १२:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।