उतै बस्न चाहन्छन् विदेशिएका नेपालीहरू, २०२३ मा ७८ प्रतिशत मात्र स्वदेश फर्किए

उतै बस्न चाहन्छन् विदेशिएका नेपालीहरू, २०२३ मा ७८ प्रतिशत मात्र स्वदेश फर्किए
फाइल फोटो

काठमाडौं : विदेशबाट स्वदेश फर्कने भन्दा विदेश जाने नेपालीको संख्या झन्डै साढे तीन लाखले बढी छ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले हालै सार्वजनिक गरेको विवरणमा सन् २०२३ मा विदेशबाट स्वदेश फर्कने भन्दा देश छोडी विदेशिने नेपालीको संख्या निकै ठूलो रहेको पाइएको छ।

विभागको विवरणअनुसार वर्ष २०२३ मा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् भने यही अवधिमा विभिन्न देश पुगेका १२ लाख ६३ हजार ४६९ नेपाली स्वदेश फर्केका छन्।

स्वदेश फर्कने भन्दा विदेशिने नेपालीको संख्या तीन लाख ४० हजार ३६७ ले बढी रहेको विभागको तथ्यांकले देखाउँछ।

तथ्यांक अनुसार सन् २०२३ मा विभिन्न उद्देश्यले विश्वका २०९ देश तथा क्षेत्रमा नेपालीहरू गएका छन्। सोही समयमा विश्वका २१५ देश तथा क्षेत्रबाट नेपालीहरू स्वदेश फर्केको देखिन्छ।

उक्त वर्ष नेपालीहरू मानव बसोवास नरहेको अन्टार्टिका बाहेक अस्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र एसियाका प्रायः सबै देशमा पुगेका छन्।

गत वर्ष सबैभन्दा बढी नेपाली गएको देश युनाइटेड अरब इमिरेट्स (यूएई) हो। यूएईमा दुई लाख ७१ हजार ८८ नेपाली टीआईएबाट गएका थिए। गत वर्ष नै सबैभन्दा बढी नेपाली यूएईबाट नै नेपाल फर्केका थिए। यूएईबाट वर्ष २०२३ मा दुई लाख १७ हजार १५९ जना नेपाली स्वदेश फर्केका थिए।

सन् २०२३ मा यूएई पछि सबैभन्दा बढी नेपाली टीआईए हुँदै गएको देशमा भारत, कतार, मलेसिया, साउदी अरब, अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत र कुवेत छन्।

विभागको तथ्यांक अनुसार भारतमा एक लाख ८१ हजार १६, कतारमा एक लाख ७९ हजार ४४१, मलेसियामा एक लाख ६५ हजार २०१, साउदी अरबमा एक लाख ३६ हजार २०३, अस्ट्रेलियामा एक लाख ५ हजार ३४३, जापानमा ८२ हजार ७७२, अमेरिकामा ६७ हजार ८१०, बेलायतमा ५३ हजार ४०१ र कुवेतमा ४८ हजार १०३ जना नेपाली गएका थिए।

यस्तै, गत वर्ष भारतबाट दुई लाख २०८, कतारबाट एक लाख ९२ हजार ८८९, मलेसियाबाट एक लाख ८१९, साउदी अरबबाट एक लाख ६ हजार ५२९, अस्ट्रेलियाबाट ६९ हजार ३७७, जापानबाट ४५ हजार ७७४, अमेरिकाबाट ४६ हजार ५४७, बेलायतबाट ३० हजार ५५३ र कुवेतबाट ४४ हजार ३५७ जना नेपाली स्वदेश फर्किएका थिए।

सन् २०२३ मा दक्षिण कोरियाबाट १९ हजार ३०, थाइल्याण्डबाट २७ हजार ४१२, चीनबाट २० हजार ७९७, हङकङबाट १८ हजार ६०७, ओमानबाट १० हजार ५२६, रोमानियाबाट २ हजार ५४९, सिंगापुरबाट ११ हजार २८७, पोर्चुगलबाट ६ हजार ६४, बंगलादेशबाट १० हजार ४३८ र बहराइनबाट सात हजार ९७७ नेपाली स्वदेश फर्किएका थिए।

गत वर्ष मात्र रुसमा एक हजार ७९५ नेपाली गएको देखिन्छ। रुसबाट नेपाल फर्कनेको संख्या ८०५ रहेको छ।

स्लोभाकिया, सुरिनेम, म्यासेडोनिया, डोमिनिका, पराग्वे, एल साल्भाडोर, बेनिन, जर्सी, गुयाना, लिसोथोलगायत २२ देशबाट एक–एक नेपाली स्वदेश फर्केका थिए।

१५ वटा देशमा भने एक/एक नेपाली मात्र गएको विभागको तथ्यांकमा देखिन्छ। गत वर्ष नै विश्वका १२ देशमा नेपाली गएका मात्र छन्, त्यहाँ बाट एकजना पनि स्वदेश फर्केका छैनन्। सोही वर्ष विश्वका सात देशबाट नेपाली फर्केका मात्र छन्, गएका छैनन्।

माघ ४, २०८० बिहीबार ११:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।