पाकिस्तानमाथि इरानले गरेको आक्रमणपछि बोल्यो भारत

पाकिस्तानमाथि इरानले गरेको आक्रमणपछि बोल्यो भारत

एजेन्सी : पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणलाई लिएर भारतबाट पनि प्रतिक्रिया आएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सोसल मिडिया प्लेटफर्म एक्समा भारतको धारणा व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, ‘यो इरान र पाकिस्तानको आपसी मामिला हो। जहाँसम्म भारतको सवाल छ, आतंकवादप्रति हाम्रो नीति शून्य सहनशीलताको छ। हामी विश्वास गर्छौं कि देशहरूले आत्मरक्षामा यस्तो कदम चाल्न सक्छन्।’

मंगलबार इरानले पाकिस्तानको बलुचिस्तानमा जैश अल-अदल नामक संगठनलाई लक्षित गरी हमला गरेको दाबी गरेको थियो। इरानले यो संगठनले आफ्नो देशमा लगातार ‘आतंकवादी घटना’ गराएको बताएको छ।

जसको विरोधमा पाकिस्तानले इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। साथै उसले आफूसँग पनि जवाफी कारबाही गर्ने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।

अमेरिकाले इरानको आक्रमणको आलोचना गर्दै शान्तिपूर्ण ढंगले समस्याको समाधान निकाल्नुपर्ने बताउँदा चीनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ।

माघ ४, २०८० बिहीबार १०:५६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।