पाकिस्तानमा इरानको ड्रोन आक्रमणको अमेरिकाद्वारा निन्दा, चीनले भन्यो- ‘दुवै देशले संयम अपनाउनुपर्छ’

पाकिस्तानमा इरानको ड्रोन आक्रमणको अमेरिकाद्वारा निन्दा, चीनले भन्यो- ‘दुवै देशले संयम अपनाउनुपर्छ’

एजेन्सी : अमेरिकाले पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणको निन्दा गरेको छ।

बुधबार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इरानले आफ्ना तीन छिमेकी देशको सीमा उल्लंघन गरेको बताएका हुन्।

पाकिस्तान, सिरिया र इराकमा इरानको आक्रमण चिन्ताजनक रहेको उनको भनाइ छ।

म्याथ्यू मिलरलाई एक पत्रकार सम्मेलनमा ‘इरानले यी आक्रमणहरूलाई आत्मरक्षास्वरूप गरेको कारबाही भनेको छ नि!’ भनेर सोधिएको थियो।

जवाफमा उनले भने ‘हामी यी आक्रमणको निन्दा गर्छौं। हामीले विगत केही दिनमा इरानले आफ्ना तीन छिमेकी देशको सिमाना उल्लङ्घन गरेको देखेका छौँ। एकातिर इरान यस क्षेत्रमा आतंकवाद र अस्थिरतालाई आर्थिक सहयोग गर्ने प्रमुख देश हो भने अर्कोतर्फ आतंकवादसँग लड्नका लागि यी कदमहरू चालेको दोहोरो कुरा गरिरहेको छ।’

पाकिस्तानको ‘जवाफी कारबाहीको अधिकार’ बारे सोध्दा म्याथ्यूले थपे, ‘मलाई आशा छ कि यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान हुनेछ।’

मंगलबार इरानले पाकिस्तानको बलुचिस्तानमा जैश अल-अदल नामक संगठनलाई लक्षित गरी हमला गरेको दाबी गरेको थियो। इरानले यो संगठनले आफ्नो देशमा लगातार ‘आतंकवादी घटना’ गराएको बताएको छ।

पाकिस्तान र इरानबीचको सम्बन्धमा तिक्तताको बीचमा चीनले दुवै देशलाई संयमता अपनाउन अपिल गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा दुई देशले अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय बडापत्रको सिद्धान्तअनुसार आपसी सम्बन्ध कायम गर्नुपर्ने बताइन्।

पाकिस्तान र इरानबीचको तनावबारे सोधिएको प्रश्नमा निङले भनिन्, ‘चीनले राष्ट्रहरूबीचको आपसी सम्बन्ध संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने विश्वास राख्छ।’

उनले थपिन्, ‘इरान र पाकिस्तान नजिकका छिमेकी र ठूला इस्लामिक देश हुन्। हामी दुवै पक्षलाई संयमता अपनाउन, तनाव बढाउन र यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न कदम चाल्न अपिल गर्दछौं।’

स्विट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चको बैठकमा इरानका विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानले इरानको मिसाइल र ड्रोन आक्रमणको निशानामा कुनै पनि पाकिस्तानी नागरिक नरहेको दाबी गरेका थिए।

उनले भने, ‘हामीले पाकिस्तानका धेरै अधिकारी र सुरक्षा बलसँग धेरै पटक कुरा गरेका छौँ। इरानमा उनीहरूले हाम्रा सुरक्षा बलका सैनिकहरूलाई मारेका छन्। हामीले सोही अनुसार प्रतिक्रिया दिएका छौं ।”

यस आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको पाकिस्तानले जनाएको छ। विरोध जनाउँदै इरानबाट राजदूत फिर्ता बोलाएको छ।

माघ ४, २०८० बिहीबार ०८:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।