सेयर बजारमा साढे दुई वर्षकै उच्च कारोबार, नेप्से भने १२ अंकले घट्यो
काठमाडौँ : बुधवार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर २१६३. ०६ विन्दुमा बन्द भयो। नेप्से दिउँसो १ बजे २२१५ विन्दुमा पुगेको थियो। तर बन्द हुने समयमा १२.१० अंकले घट्यो।
बुधवार तीन सय कम्पनीको कारोबार भएको थियो। ६३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो। एक सय ८० कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्दा चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बुधवार बिमा, उत्पादन तथा प्रशोधन, होटेल तथा पर्यटन, हाइड्रोपावर र फाइनान्सको सेयर उच्च अंकले घट्यो।
ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर भने १० प्रतिशतले बढ्यो।
बुधवार सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भयो।
बुधवार ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको थियो। यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो। यसअघि २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो।
माघ ३, २०८० बुधबार १८:५२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।