फागुनमा केपी ओली कप फुटबल हुने, विजेतालाई ११ लाख

फागुनमा केपी ओली कप फुटबल हुने, विजेतालाई ११ लाख

काठमाडौँ : एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा केपी ओली कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

बुधवार पत्रकार सम्मेलन गर्दै सङ्घले केपी ओली कप–२०८० फागुन ११ गतेबाट सुरु हुने जानकारी सार्वजनिक गरेको हो।

सङ्घका अध्यक्ष क्षितिज थेवेले प्रतियोगिता एक सातासम्म हुने र फाइनल फागुन १९ गते गरिने जानकारी दिएका थिए।

थेवेका अनुसार प्रतियोगिताको फाइनल बाहेकका खेलहरू अखिल नेपाल फुटबल सङ्घ (एन्फा) टेक्निकल सेन्टर च्यासलमा हुनेछ। फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका रहेको उनले जानकारी दिए।

थेवेले खेल र मनोरञ्जनको माध्यमबाट युवाहरूलाई सकारात्मक सन्देश दिन सकिने भएकाले फुटबल प्रतियोगिताको सुरुवात गर्न लागेको बताएका थिए।

केपी ओली कप सम्पन्न नभएसम्मका लागि पार्टीको झन्डा र भाषणलाई विश्राम दिने उनले बताए।

उनले प्रतियोगितामा कुनै पनि पार्टीको झन्डा प्रयोग नगर्ने बताएका छन्।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले खेलाडीहरू बेरोजगारीका कारणले विदेश जानुपर्ने अवस्था भएको भन्दै खेलकुद विश्वविद्यालय बनाउनुपर्ने बताएका थिए।

प्रतियोगितामा नेपालका ’ए डिभिजन’ तथा विदेशी टिमलाई समेत सहभागी गराइने जनाइएको छ। प्रतियोगितामा विजेताका लागि ट्रफी र पदकसँगै ११ लाख रुपैयाँ नगद पुरस्कार छ भने उपविजेता टिमले ५ लाख नगद पाउने छ।

त्यस्तै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १५ हजार नगद पाउने छन् । त्यस्तै हरेक खेलका विजेता टिमलाई २५ हजार नगद प्रदान गरिने छ।

माघ ३, २०८० बुधबार १८:४२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।