भुवन केसीको कामप्रति सन्तुष्ट छैनन् नीर शाह, भेटमै पर्छ चर्काचर्की

भुवन केसीको कामप्रति सन्तुष्ट छैनन् नीर शाह, भेटमै पर्छ चर्काचर्की

 

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कामप्रति कलाकार तथा निर्देशक नीर शाह सन्तुष्ट छैनन्।

बोर्डको कामप्रति सन्तुष्ट बन्न नसकेका नीर शाह र भुवन केसीबीच राम्रै चर्काचर्की पर्दै आएको छ।

तीन महिना अघि निर्माता संघको कार्यक्रममा बोर्डको कार्यशैलीप्रति असन्तुष्टि देखाउँदै उनले बोर्डको काम नभएको र त्यो खारेज हुनुपर्ने माग गरेका थिए। नेपाली चलचित्रप्रति बोर्ड उत्तरदायी बन्न नसकेको भन्दै बोर्ड अध्यक्ष केसीको राजीनामा समेत मागेका थिए।

मंगलबार पनि कलाकार नीर शाह र बोर्डका अध्यक्ष भुवन केसीबीच नीफको कार्यक्रममा भेट भएको थियो। भेटमा दुवै जनाले एक अर्काको अनुहार राम्रोसँग हेर्दा पनि हेरेनन्।

कलाकार शाहले बोर्डले विदेशी फिल्मलाई बढी प्राथमिकतामा राखेको र नेपाली फिल्मप्रति चासो नदिएको भन्दै बोर्ड अध्यक्षप्रति उही पुरानै असन्तुष्टि दोहोर्याए।

कार्यक्रममा बोल्दै उनले फिल्म क्षेत्र राष्ट्रिय उद्योग नभएकाले यसलाई फिल्म क्षेत्र मात्र भन्न मिल्ने बताए।

उनले नेपालमा बनेका हलहरू नेपाली फिल्म रिलिजका लागि नभएर विदेशी फिल्मका लागि निर्माण गरिएको आरोप लगाए।

‘देशभर जम्मा १ सय ६९ वटा पर्दा छन्। त्यो पनि आयातित सामग्रीले प्राथमिकता पाउने गरी खोलिएका पसलहरूमा आफ्नो सामानहरू बेच्नका लागि राखेर हामी माथि पुग्छौँ त?,’ उनले भुवन केसीतर्फ इंगित गर्दै भने, ‘३३ वटा जिल्ला रहेछ नेपालमा, फिल्म हल भएका। तर, हामीकहाँ अझै एउटा पनि फिल्म हल नभएका जिल्ला छन्। पहिला गाउँ गाउँमा, वडा वडामा फिल्म हलहरू स्थापित हुनुपर्यो नि।’

उनले थपे, ‘आफ्नो सामान बेच्नका लागि पसल नै छैनन् भने तपाई कसरी सामान बेच्न सक्नुहुन्छ? जुन देशमा नेपाली फिल्म देखाउने हल नै छैनन्, त्यो देशमा कसरी फिल्मको विकास हुन्छ ?’

प्रमुख अतिथि बनेका अध्यक्ष केसीतर्फ हेर्दै शाहले बोर्डले स्टुडियो बनाउने जस्ता ससाना काममा मात्र दौडिएर केही नहुने बताए।

‘स्टुडियो भनेर दौडिएका छौँ, विधेयक भनेर दौडिएका छौँ, कानुन भनेर दौडिएका छौँ,’ उनले थपे, ‘जुन मुख्य मुद्दामा हामीले फिल्म क्षेत्रलाई उभ्याउन पर्ने( पूँजी र बजार) हो त्यसमा ध्यान दिन सकेका छैनौं।’

भुवन केसीले पनि आफूले जति सोचेर बोर्डमा गएको त्यति काम गर्न नसकेको स्वीकार गरे।

उनले पुरानै ऐनले अहिले फिल्म क्षेत्र चलिरहेकाले छिट्टै नयाँ विधेयक पास गराउन आफू लागि परेको बताए। फिल्म स्टुडियोका लागि आफ्नै पहलमा काभ्रेमा इन्डोर स्टुडियो बनाउन थालिएको र पुरानो ऐनलाई परिवर्तन गर्दै नयाँ पारित गर्न लागिएको जानकारी दिए।

भुवनको कुरा सुनेका शाहले त्यति सन्तुष्ट भने हुन सकेनन्।

माघ ३, २०८० बुधबार १८:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।